१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार o६:४८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनसुनको पहिलो दिन नै खतराको पूर्वसंकेत

पूर्वी नेपालमा भारी वर्षा, कोशी लोकमार्ग कटान, एसियन राजमार्ग अवरुद्ध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o६:४८:oo

नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ । बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार शनिबार बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको करिब सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ । जसकारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी जल तथा मौसम विज्ञान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पश्चिमी वायु सक्रिय बन्दा मनसुन पूर्वी नेपालबाट अन्यत्र विस्तार हुन सकेको छैन । यसपालि सरदरभन्दा १५ दिनअघि बिहीबार राति प्रवेश गरेको मनसुनले कोशी प्रदेशमा भीषण वर्षा पनि सुरु भइसकेको छ । तर, पश्चिमी वायु (पश्चिमबाट पूर्व बहने हावा) सक्रिय हुँदा मनसुन अगाडि बढ्न नसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘यसपटक चाँडै मनसुन भित्रिए पनि देशभर विस्तार हुने समय लाग्ने देखियो, अहिलेको अवस्थामा एक–डेढ हप्ता लाग्ने देखियो,’ उनले भनिन्, ‘मनसुन विस्तार हुन नसकेको ठाउँमा पनि ठुलो पानी परिरहेको छ ।’ स्थानीय र पश्चिमी वायुका कारण मध्य र पश्चिम नेपालमा पानी परिरहेको हो । पोहोर पनि सरदरभन्दा अगाडि मनसुन भित्रिए पनि देशभर विस्तार हुन दुई साता लागेको थियो ।

जलवाष्पयुक्त मनसुनी वायुका कारण शुक्रबार राति पूर्वी नेपालमा दुई सय मिलिमिटरसम्म पानी परेको छ । अधिकांश ठाउँमा सय मिलिमिटरभन्दा बढी पानी परेको छ, जबकि २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई ठुलो वर्षा भनिन्छ । शनिबार पनि राति पूर्वी नेपालमा मनसुनी वर्षा हुँदा गण्डकी र कर्णालीमा पश्चिमी र स्थानीय वायुका कारण ठुलो पानी परेको छ । मनसुनको पहिलो दिन नै झापामा निर्माणाधीन एसियन राजमार्गअन्तर्गत राजमार्ग अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न ठेक्का लागेको राजमार्गमा सबै कल्भर्ट भत्काएर डाइभर्सन बनाइएको थियो । शुक्रबार राति परेको अविरल वर्षाले तीनवटा डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । यद्यपि, दिनभर लगाएर तीनवटै डाइभर्सन निर्माण गरी अवरुद्ध राजमार्ग सुचारु गरिएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तले बताए । उनका अनुसार निर्माणाधीन राजमार्गको मेचीनगरस्थित कालीखोला, चाराली जंगलमा रहेको एनिमल अन्डरपास र डुकुरे खोलाको डाइभर्सन बगाएको थियो । जसमध्ये कालीखोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको उनले बताए ।

चारआलीको जंगलमा रहेको डाइभर्सनमा ह्युमपाइप थपेर बनाइएको पन्तले बताए । यो राजमार्ग १६ महिनाअघि निर्माण थालिएको हो । काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)अन्तर्गत झापाको काँकडभिट्टादेखि ४५ किलोमिटर पर्छ । यो सडक विस्तारका लागि १० अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । तर, काम सुस्त हुँदा मनसुनको सुरुवातमै राजमार्ग अवरुद्ध भयो । निर्माण सुरु भएको १६ महिनामा सडक विस्तारको काम जम्मा २० प्रतिशत मात्र भएको पन्तले बताए । यो काम सन्तोषजनक नभएको उनको भनाइ छ । अविरल वर्षासँगै आएको बाढीका कारण झापाकै ठुलो माई नदी बस्तीमा पसेको छ । झापा गाउँपालिका १ र २ का बस्तीमा माई नदी पस्दा नयाँबस्ती, कुवाडी, झारमारा, मिलनबस्तीलगायतका करिब १५० घर डुबानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।  

बुटवल–नारायणगढ सडक अवरुद्ध 

नवलपरासी- दुई दिनअघि परेको पानीले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा तीन स्थानमा अवरुद्ध बनेको छ । चोरमाराको गिरुवारी खोला, दुम्कीबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोलामा गरी तीन ठाउँमा एकसाथ सडक अवरुद्ध भएको हो । चोरमारा र दाउन्नेमा शुक्रबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा आयो भने दुम्कीबासको डाइभर्सन शनिबार मात्र निर्माण सकिएर बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ । तीन स्थानमा सडक एकतर्फी भएपछि यात्रुहरूले निकै सास्ती व्यहोर्नुपरेको छ । दुम्कीबासबाट बर्दघाट वा बर्दघाटबाट दुम्कीबाससम्म आउन १२ घण्टासम्म जाममा बस्नुपरेको छ ।

१४ घण्टापछि धरान–धनकुटा सडक एकतर्फी सञ्चालन
 

अविरल वर्षाका कारण अवरुद्ध कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।  तस्बिर : सन्तोष रुचाल/नयाँ पत्रिका

धनकुटा- अविरल वर्षाका कारण अवरुद्ध कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले लोकमार्गको करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रूपमा खुलाएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । सडक निर्माणका लागि सडक विभागको एक र अन्य तीन गरी चारवटा एक्स्काभेटर परिचालन गरिएको थियो । शनिबार बिहान ५ बजेदेखि अवरुद्ध सडक १४ घण्टाको निरन्तर प्रयासपछि एकतर्फी रूपमा सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले बताए । लेउती खोलाको धार फर्काएर अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनमा ल्याइएको छ ।