
यार्सागुम्बा संकलनका लागि डोल्पा गएका रुकुम पूर्वका एक किशोरको ज्यान गएको छ। पुथाउत्तरगंगा गाउँपालिका –९ स्थित आदर्श माध्यमिक विद्यालय, खाराबाङमा कक्षा नाैमा अध्ययनरत १७ वर्षीय विद्यार्थी अविराज विकको मृत्यु भएको वडा ९ का वडाध्यक्ष हर्कप्रसाद रोकाले जानकारी दिए ।
वडाध्यक्ष रोकाको अनुसार केही दिनअघि हजुरबुबासँगै यार्सागुम्बा टिप्न डोल्पा गएका विकको शनिबार अचानक स्वास्थ्य बिग्रँदा ज्यान गएको हाे। प्रारम्भिक अनुमानमा विकको मृत्यु ‘लेक लागेर’ अर्थात् उच्च उचाइका कारण भएको स्वास्थ्य जटिलताबाट भएको हुन सक्ने आशंका गरिएको छ।
प्रत्येक वर्ष डोल्पा र रुकुम पूर्वलगायतका उच्च हिमाली क्षेत्रहरू यार्सागुम्बा संकलनका लागि जोखिम मोलेर जानेहरूको गन्तव्य बन्छन्। मौसम प्रतिकूलता, आधारभूत स्वास्थ्य सेवाको अभाव, उच्च उचाइमा हुने स्वास्थ्य समस्या जसको कारण हरेक वर्ष दुःखद घटनाहरू दोहोरिरहेका छन् ।