१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार o७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीनकुने घटनाका आरोपीविरुद्ध आज मुद्दा दर्ता : १०८ जनालाई प्रतिवादी बनाउन प्रहरी सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o७:२४:oo

गत १५ चैतमा तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा आइतबार अदालतमा दर्ता हुने भएको छ । मुद्दामा १०८ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव छ । अभियुक्तहरूविरुद्ध पाँचवटा मुद्दा लगाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले तीनुकने घटनासँग सम्बन्धित मुद्दा आइतबार अदालतमा पेस हुने बताए । ‘तीनकुने घटनाको अनुसन्धान सकिएको छ । १०८ विरुद्ध अभियोग लगाउने प्रहरीको सुझाव छ । त्यसमध्ये केही थपघट हुन सक्छ । उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी पाँचवटा कसुर लगाउने तय भएको छ । आइतबार मुद्दा अदालतमा पेस हुन्छ,’ उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको थियो । तीनकुने हिंसात्मक घटनामा १७० भन्दा धेरै पक्राउ परेका थिए, जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै दुई दिनको म्याद थप भएको थियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शन हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । घटना अनुसन्धानको अवधि आइतबार ६० दिन पूरा भएको छ ।

तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलगायत पक्राउ परेका थिए । जसमध्ये ६१ विरुद्ध मात्रै आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गतको कसुर लगाइएको छ । बाँकीलाई भने हाजिर जमानीमा छाडिएको छ । अभियोग लगाइएकामध्ये राणा र मिश्र हिरासतमुक्त छन् । वकिल कार्यालयका अनुसार नेताद्वयविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ । समितिका कमान्डर प्रसाईंविरुद्ध पनि सोही कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी छ ।