Skip This
‘बी’ डिभिजन लिगको समापन आज, आरसिटीको सानदार जित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ९ शुक्रबार o८:२९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘बी’ डिभिजन लिगको समापन आज, आरसिटीको सानदार जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार o८:२९:oo

सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले बिहीबार श्री कुमारी क्लबविरुद्ध ४–१ को सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसिटीलाई जिताउन विवेक राई र अजित गुरुङले समान दुई गोल गरेका थिए । श्री कुमारीका लागि राजकुमार स्याङ्तानले एक गोल फर्काएका थिए । 

जितसँगै १३ खेलमा १८ अंक जोड्दै आरसिटीले लिग सकाएको छ । समान खेलबाट श्री कुमारीले १६ अंक बटुल्यो । आरसिटी र श्री कुमारी यस सिजनको ‘बी’ डिभिजनमै रहनेछन् । प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले शीर्ष डिभिजनमा स्थान बनाए । श्री टुसाल युवा क्लब र नयाँ बस्ती युवा क्लब ‘सी’ डिभिजनमा घटुवा भइसकेका छन् ।

दुई वर्षपछि सम्भव भएको ‘बी’ डिभिजन लिगको समापन शुक्रबार हुँदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार लिगको अन्तिम दिनको खेल दशरथ रंगशालामा हुनेछ । लिगको अन्तिम दिनको पहिलो खेलमा दोस्रो स्थान रक्षा गरेको श्री भगवतीले सरस्वतीको सामना गर्नेछ । त्यसपछि च्याम्पियन बनिसकेको प्लानिङ ब्वाइजले ‘सी’ डिभिजनमा घटुवा भइसकेको टुसालविरुद्ध दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल दिउँसो १२ बजे र दोस्रो तथा लिगकै अन्तिम खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ । 

प्लानिङ ब्वाइज र श्री भगवती अपराजित
यसपटक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज र श्री भगवती क्लब अपराजित छन् । लिगको १२औँ खेलसम्म प्लाइनिङ ब्वाइजले हारको सामना गरेको छैन । प्लानिङ ब्वाइजले टुसालमाथि जित निकाली लिग सकाउने योजना बनाएको छ । प्लाइनिङ ब्वाइजले १२ खेलमा सर्वाधिक नौ खेलमा जित र तीन खेलमा ‘ड्र’ को नतिजा निकालेको छ । प्लानिङ ब्वाइज लिग सुरु भएदेखि शीर्ष स्थानमा रह्यो । उसले विपक्षीविरुद्ध २० गोल गरेको छ । विपक्षी टोलीले प्लाइनिङ ब्वाइजको पोस्टमा चार गोल गरेका छन् । 

यसैगरी, श्री भगवतीले १२ खेलमा सात जित र पाँच बराबरी नतिजा हात पारेको छ । प्लानिङ ब्वाइज र श्री भगवतीले लिग चरणको खेलमा बराबरी खेलेका थिए । ‘ए’ डिभिजनको पूर्वक्लब ब्वाइज युनियनले अन्तिम खेलमा जित निकाली तेस्रो स्थान रक्षा गरेको हो । 

यसपटक पहिलो टोलीका रूपमा नयाँ बस्ती रेलिगेसनमा परेको हो । नयाँ बस्तीले १३ खेलमा केवल एक जित मात्र निकाल्यो । उसले दुई बराबरी र १० खेलमा हारको सामना गरी ५ अंक मात्र बटुलेको छ । टुसालले १२ खेलमा दुई जित र पाँच हार, पाँचै बराबरी खेल्दै ११ अंक जोडेको छ । ‘सी’ डिभिजनमा घटुवा हुने टुसाल दोस्रो टोली हो ।

सात गोलको रोमाञ्चक प्रतिस्पर्धा 
लिगको अर्को खेलमा ब्वाइज युनियन र बाँसबारीबिच रोमाञ्चक खेल भयो । यस खेलमा ब्वाइज युनियनले बाँसबारीलाई ४–३ ले हरायो । बाँसबारीका सन्दीप लिम्बूको ह्याट्रिक छायामा प¥यो । ब्वाइज युनियनलाई जिताउन सञ्जीव लिम्बू, सुजन स्याङ्तान, सुशन लामा र सुजन श्रेष्ठले समान एक गोल गरेका थिए । बाँसबारीका लागि सन्दीपले २२औँ, ६६औँ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । ब्वाइज युनियन २२ अंकका साथ तेस्रो स्थानमा रह्यो । ब्वाइज युनियनले १३ खेलमा ६ जित चार बराबरी र तीन हारको नतिजा निकाल्यो । बाँसबारीले पाँच जित र आठ हारमा १५ अंक जोडेको हो । 

वीरगन्जको जित
एन्फा मैदानमै सम्पन्न अर्काे खेलमा वीरगन्ज युनाइटेडले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३–१ ले पराजित गरेको छ । खेलमा वीरगन्जलाई जिताउन कृपाकान्त महतो थारू, सागर बन्थ थारू र अमर डंगोलले गोल गरे । खेलमा ब्रिगेडले २०औँ मिनेटमा अग्रता लिएको थियो । खेलको २५औँ मिनेटमा कृपाकान्तले १–१ को बराबरी गोल गरेका हुन् । सागरले ६१औँ मिनेटमा वीरगन्जलाई २–१ को अग्रता दिलाए । अमर डंगोलले ७८औँ मिनेटमा वीरगन्जलाई ३–१ को जित दिलाए ।