
प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार हुने भएको छ। सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।
नकआउट आधारमा हुने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी र नेपाल एपिएफ क्लब गरी सात टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई सात हजार नगदबाट पुरस्कृत गरिनेछ । खेलाडीहरूको एक लाख २५ हजारबराबरको खेल दुर्घटना बिमा गरिएको छ । सहभागी टिमलाई होटेल र एकतर्फी यातायात खर्च उपलब्ध गराइनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने बताइएको छ । त्यसमा ११ लाख आयोजक एकेडेमीले उपलब्ध गराउनेछ भने बाँकी रकम रग्बी संघले व्यवस्थापन गर्नेछ । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।