
जनमत पार्टीले मधेश प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएको छ । जनमतले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको हो ।
बिहीबार नै पर्यटनमन्त्रीमा वसन्त कुसवाह र वनमन्त्रीमा सञ्जयकुमार यादव नियुक्त भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १३८ को उपधारा ९ बमोजिम मन्त्रीद्वय कुसवाह र यादवलाई पद तथा गोपनीयताको शपथ पनि गराएकी छिन् ।
मुख्यमन्त्री सिंहले पार्टीले आफ्ना सबै सांसद सरकारमा जाने मौका मिलोस् भन्ने उद्देश्यले मन्त्री फिर्ता बोलाइएको बताए । ‘असार मसान्तपछि उहाँहरूको एक वर्ष कार्यकाल पूरा भएपछि फिर्ता हुने नै थियो । तर, अहिले नयाँ योजना बनाउने समय भएकाले नयाँ व्यक्तिलाई सरकारमा पार्टीले पठाएको हो,’ उनले भने।
यद्यपि, वनमन्त्रीबाट हटाइएका साहमाथि मन्त्रालयका योजना बिक्रीको आरोप थियो । उनले वडा–वडामा गएर बढी कमिसन दिनेसँग योजना बिक्री गर्ने, आफ्नै मान्छेलाई उपभोक्ता समितिमा राखेर काम गराउने तथा बालुवा–गिट्टीको व्यवसायी सञ्चालन गरेर ठेकेदारलाई आफूसँग मात्रै सामान खरिद गर्न लगाउने गर्दै आएका थिए । तर, मुख्यमन्त्री सिंहले भने फिर्ता बोलाउनुको कारणमा यसलाई स्वीकार गरेनन् ।