
५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलन घटनाको प्रहरीले अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय प्रतिवेदन बुझाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेका अनुसार भ्याएसम्म शुक्रबार अदालतमा मुद्दा दायरको तयारी भइरहेको छ । ‘प्रहरीबाट अनुसन्धान प्रतिवेदन आएको छ, हामी अध्ययन गर्दैछौं,’ उनी भन्छन्,‘भ्याएसम्म शुक्रबार नै मुद्दा दायर हुन्छ ।’
राजसंस्था पर्नुस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो । योजनाबद्ध रुपमा आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रहरीले राप्रपाका नेतासहितलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा लगायतलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान गरिएको छ । धवलशमशेर स्वास्थ्यका कारण तथा मिश्र सर्वाेच्च अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् । सो आन्दोलनका नाइके मेडिकल व्यवसायी दुर्गा प्रसाई थुनामै छन् । प्रहरीले ६०जना भन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । संगठित अपराधको मुद्दामा अधिकतम ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाइने भएकाले मुद्दा दायर हुन लागेको हो।
प्रहरीले प्रसाईविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन सिफारिस गरेको छ । त्यस्तै, रबिन्द्र मिश्र र धवलशमशेरविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुर अभियोग लगाउने तयारी छ ।
काठमाडौं परिसरका एसपी अपिलराज बोहराले अनुसन्धान सकिएको र केही फाइल सरकारी वकिलमा पठाइएको र पूर्णरुपमा भने शुक्रबार पठाइने बताए ।
व्यवसायी दुर्गा प्रसाईको हकमा भने सिआइबीले बैंक ऋण दुरुपयोगमा छुट्टै अनुसन्धान गरेर उच्च सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । विभिन्न बैंकहरुबाट व्यवसायका लागि भनेर प्रसाईले करिब पाँच अर्ब ऋण लिएकोमा त्यो अन्यत्र खर्च गरेर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।