Skip This
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा एमाले र सरकारको संयुक्त सहभागिता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार o५:५७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा एमाले र सरकारको संयुक्त सहभागिता

बेइजिङ, गान्सु र सिचुआनको दशदिने कार्यतालिका तय, राष्ट्रपति सी जिनपिङलगायत शीर्ष नेतासँग भेट अस्पष्ट 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार o५:५७:oo

दशदिने भ्रमणमा शनिबार चीन जान लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेपाल सरकारका मन्त्री पनि रहने भएका छन् । भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लागे पनि उनको भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन् ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच छलफलपछि भ्रमण तय भएको र सोहीअनुसार भ्रमणको स्वामित्व सरकार र एमाले दुवैले लिने गृहकार्य गरिएको एमालेका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यूकै चाहनाअनुसार यो भ्रमणको स्वामित्व सरकारले पनि लिने, एमालेले पनि लिने गरी प्रतिनिधिमण्डलको चयन भएको हो,’ प्रधानमन्त्रीनिकट ती एमाले नेताले भने, ‘पार्टीको विदेश विभाग प्रमुख र क्याबिनेटका मन्त्रीको भ्रमण दलमा सहभागिताको अर्थ यही हो ।’

उनको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीसहित आठ सदस्य सहभागी हुनेछन् । यसबाहेक एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट हुनेछन् । भण्डारी, अधिकारी र विष्ट मदन भण्डारी फाउन्डेशनका सदस्यसमेत हुन् । भ्रमण दलमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् । सगरमाथा संवादका लागि काठमाडौं आएका ओली मंगलबार बेइजिङ फर्केका थिए ।

भण्डारी सुरुमा बेइजिङ, त्यसपछि गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर स्वदेश फर्किने गरी दश दिनको भ्रमण–तालिका तय भएको छ । एमाले सचिव एवं भ्रमण दलका सदस्य महासेठले पूर्वराष्ट्रपतिको भ्रमण १० देखि १९ जेठसम्मका लागि तय भएको बताए । ‘भ्रमणलाई नेपाल सरकार र हाम्रो पार्टीले सकारात्मक रूपमा लिएका छन् । चीनसँग सम्बन्ध थप सुदृढ गर्न यो भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर हो,’ महासेठले भने । उनले भण्डारीको भ्रमण पूर्वराष्ट्रपतिका रूपमा हुन लागेकोले त्यही अर्थमा लिनुपर्ने पनि बताए ।

कार्यतालिकाअनुसार शनिबार राति काठमाडौंबाट ग्वान्जाओ हुँदै उनी आइतबार बेइजिङ पुग्नेछिन् । आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुने कार्यक्रम छ । 

‘यो पूर्वराष्ट्रपतिको औपचारिक द्विपक्षीय भ्रमण होइन । छिमेकी देशका पार्टीहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको समबन्धबारे आयोजित कार्यक्रममा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले उनलाई निमन्त्रणा गरेका थिए,’ जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो । पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबिच सोमबार अपराह्न भेटवार्ता तय भएको छ । तर, शीर्ष नेतासँगको भेटबारे चिनियाँ पक्षले जानकारी दिइसकेको छैन । 

भण्डारी सोमबार (१२ जेठ) छिमेकी मुलुकहरूका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको संवाद शीर्षक दिइएको कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । भण्डारीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा एमाले नेताद्वय महासेठ र थापाले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्योगमन्त्री भण्डारीले पनि कार्यक्रमको एउटा सत्रलाई सम्बोधन गर्नेछन् ।

मंगलबार (१३ जेठ)मा पूर्वराष्ट्रपति भण्डारीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ नेता माओत्सेतुङको समाधि हलको र फरबिडन सिटीको भ्रमण गर्ने कार्यक्रम छ । त्यही दिन उद्योगमन्त्री भण्डारीले चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडका (सिसिपिआइटी)का नेतासँग भेटवार्ता गर्नेछन् । मदन भण्डारी फाउन्डेसनका अधिकारी र भण्डारीले चाइना पिस डेभलपमेन्ट फाउन्डेसनमा नेताहरूसँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण समेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ । 

बुधबार र बिहीबार (१४ र १५ जेठ) भ्रमण दलले गान्सु प्रान्तको डुनहुवाङमा सहरका विभिन्न विकास मोडलको अवलोकन गर्ने कार्यक्रम छ । बिहीबार साँझ उनीहरू चिनियाँ वरिष्ठ नेताद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । वरिष्ठ नेताको नाम कार्यतालिकामा उल्लेख छैन । तर, उनी उपराष्ट्रपति हान झेङ हुने एमाले विदेश विभागको अपेक्षा छ ।

‘हाम्रो पार्टीको विदेश विभाग दुई देशको सम्बन्ध थप गहिरो होस् र नेपालको भौतिक विकासमा चिनियाँ सहयोग थप वृद्धि होस् भन्ने चाहन्छ । यो भ्रमण त्यसका लागि सहयोगी सिद्ध हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ महासेठले भने, ‘त्यसैअनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति नेतृत्वको प्रतिनिधिण्डलले चिनियाँ शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछ ।

शुक्रबार (१६ जेठ) पूर्वराष्ट्रपति भण्डारीले चीन सरकारद्वारा गान्सु प्रान्तको डुनहुवाङ सहरमा आयोजित सभ्यताहरूबिच आदान–प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमको मुख्य अतिथि रहनेछिन् । कार्यक्रममा लाओसका राष्ट्रिय सभाका उपाध्यक्षसहित विभिन्न देशबाट राजनीतिक नेताहरू सहभागी हुने कार्यक्रम छ । पूर्वराष्ट्रपति भण्डारीले गान्सु प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा सरकारी उच्च अधिकारीसँग पनि भेटवार्ताको कार्यक्रम छ । 

पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल शनिबार (१७ जेठ) उच्च गतिको रेलमा गान्सु प्रान्तकै जियायुगुआन भ्रमणमा जाने कार्यक्रम छ । आइतबार (१८ जेठ) जियायुगुआनबाट प्रतिनिधिमण्डल सिचुआन प्रान्तको छेन्दु पुग्ने र सोमबार (१९ जेठ) स्वदेश फर्किने कार्यक्रम छ । छेन्दुमा पूर्वराष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताले स्वागत गर्ने कार्यक्रम छ । 

भण्डारीले राष्ट्रपतिको हैसियतम ११ देखि २० वैशाख ०७६ मा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन गएकी थिइन् । यस्तै, राष्ट्रपति रहँदा भण्डारीको निमन्त्रणामा चिनियाँँ राष्ट्रपति सी जिनपिङले २५–२६ असोज ०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।