
भिजिट भिसाको सेटिङमा दैनिक लाखौं रुपैयाँ घुस लेनदेन हुने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा हानेर अनुसन्धान थालेको छ । ‘अन्डरकभर अप्रेसन’ चलाई प्रमाण संकलन गरेपछि बुधबार आयोगको टोलीले छापा हानेको हो ।
आयोगले कार्यालय प्रमुख रहेका सहसचिव तिर्थराज भट्टराईलाई समेत नियन्त्रणमा लिएको थियो । उनलाई सोधपुछ गरी हाजिरी जमानीमा छाडिएको छ । उनको मोबाइल आयोगले जफत गरेको छ ।
गत असोजमा अध्यागमन प्रमुख भएका भट्टराईले लगत्तै रेट बढाएर भिजिट भिसाको सेटिङ बढाएका थिए । पछिल्लो समय दिनमै ५० लाख रुपैयाँसम्म लेनदेन हुने गरेको थियो । सोही सूचनाका आधारमा आयोगको टोलीले निगरानी गरी प्रमाण संकलन गरेको थियो । अख्तियारले सहसचिव भट्टराईलाई निगरानीमा राखेको थाहा पाएपछि गृह मन्त्रालयले बुधबार हतार हतार भट्टराईको सरुवा गरेको थियो। तर, उनले रमाना लिइसकेका थिएनन्।
स्रोतका अनुसार कर्मचारीलाई दैनिक घुस बुझाउने एजेन्टहरुको समेत मोबाइल जफत गरेर अनुसन्धान थालिएको छ। जसका आधारमा दर्जनौं कर्मचारी छानविनमा तानिने सम्भावना छ । ह्वाट्सएप लगायत माध्यमबाट एजेन्टहरुलाई भिजिट भिसाम उडाउने व्यक्तिहरुको विवरण कर्मचारीलाई पठाउने गरेका थिए । त्यसका लागि कर्मचारीले गोप्य मोबाइल बोक्दै आएका थिए ।
सहसचिव भट्टराई भिजिट भिसाको गिरोह चलाउन कोर समूह बनाएका थिए । जसमा यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भिष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, लक्ष्मी भुषाल, दुर्गा थापा लगायत कर्मचारी छन् । अध्यागमनमा गृह मन्त्रालयको सचिवालयले छानी छानी निकटस्थ कर्मचारीलाई पठाउँदै आएको छ । यसमा ठूलो आर्थिक चलखेल रहेको स्रोत बताउँछ । भिजिट भिसाको सेटिङ बढेको कारण अध्यागमनमा दरबन्दीभन्दा ४० जना कर्मचारी धेरे खटाइएको छ।