
राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द गरेर निर्माण अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।
आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए ।
‘निर्माण आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रूपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि त्यसका लागि अनुमति दिइएको हो,’ प्रजिअ तिवारीले भने ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आज सूचना गरी काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।