१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
 अर्जुन पौडेल, प्रमुख जिल्ला अधिकारी, रसुवा
टेकराज थामी काठमाडाैं
Invalid date format o७:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रसुवागढीमा साढे सात किलो सुन बरामद 

दुई महिनाअघि टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ र साढे सात किलो सुन तस्करीको प्रकृति एउटै 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२o:oo

सुन तस्करी गर्ने उद्देश्यले रसुवाको केरुङ नाकातर्फ लैजाँदै गरेको २५ करोड रुपैयाँ बरामद भएको दुई महिना नबित्दै सोही नाकाबाट भित्रिएको साढे सात किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे १ बजे गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट सुन बरामद गरेको हो । सुन तस्करीमा गोसाइँकुण्ड– ५ का २५ वर्षीय किशोरकुमार भुजेल पक्राउ परेका छन् । 

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले केरुङबाट स्याउ लोड गरी नेपाल भित्रिएको बा.७झ ६२०१ कन्टेनरमा फल्सबटम बनाई सुन ल्याइएको बताए । ‘रसुवागढीको भन्सार क्षेत्रबाटै सात किलोभन्दा धेरै सुन बरामद भएको छ । स्याउ ल्याउने कन्टेनरभित्र फल्सबटम बनाई सुन तस्करी भएको देखियो । एकजना पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्ने भुजेल कन्टेनरचालक हुन् । उनले स्याउसहितको कन्टेनर काठमाडौंतर्फ लैजाँदै थिए । सोही क्रममा उनी पक्राउ परेका हुन् । बरामद सुन क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममा भेटिएको थियो । गत ४ चैतमा टोखाको झोरममा बरामद २५ करोड रुपैयाँ पनि क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममै बरामद भएको थियो । 

जिप्रका रसुवाका प्रमुख डिएसपी हेमबहादुर शाहीले गत ४ चैतमा टोखाको झोरबाट बरामद २५ करोड रुपैयाँ तस्करी र आइतबार रसुवागढीमा बरामद सुन तस्करी गर्ने ‘मोडस अपरेन्डी’ एउटै भएको बताए । ‘चालक सिटभन्दा माथि फल्सबटम बनाई सुन लुकाइएको रहेछ । गत ४ चैतमा टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ पनि त्यस्तै ठाउँमा लुकाइएको थियो ।

त्यसो हुँदा दुईवटा घटनाको ‘मोडस अपरेन्डी’ मिल्छ,’ उनले भने । प्रहरीका अनुसार बरामद सुनको परिमाण सात किलो ६५३ ग्राम छ । सातवटा बिस्कुट र स–साना टुक्रामा विभाजन गरी सुन काठमाडौंतर्फ तस्करी हुँदै थियो । सुन, कन्टेनर र स्याउ रसुवागढीस्थित भन्सार कार्यालयमा बुझाइएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले बताए ।

गत ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखाको झोरबाट केरुङतर्फ लैजाँद गरिएको ना.७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो । जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो । घटनामा कन्टेनरचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा पक्राउ परेका थिए । पछि घटनाको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । 

घटनामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका नारायण पौडेल संलग्न रहेको खुलेको थियो । पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । तस्करीमा संलग्न पौडेल माओवादी नेता हुन् । उनी भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका सहोदर दाजु हुन् । राजकुमार माओवादीकै टिकटमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेस उम्मदवार पासाङनुर्बु शेर्पासँग पराजित भएका थिए । 

 अर्जुन पौडेल, प्रमुख जिल्ला अधिकारी, रसुवा
रसुवागढीको भन्सार क्षेत्रबाटै सात किलोभन्दा धेरै सुन बरामद भएको छ । स्याउ ल्याउने कन्टेनरभित्र फल्सबटम बनाई सुन तस्करी भएको देखियो । एकजना पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।