१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:४७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी सम्मेलन : कोशी समृद्धिको कोसेढुंगा

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:४७:oo
  • १८ र १९ वैशाखमा भएको लगानी सम्मेलनमार्फत कोशीमा समृद्धिको ढोका उघ्रेको छ, एमओयू भएका परियोजनामा लगानी भित्र्याउन सफल भए कोशी बन्नेछ ‘नयाँ अर्थतन्त्र’, ४६ परियोजनामा डेढ खर्ब लगानी गर्न स्वदेशी तथा गैरआवासीय नेपाली आतुर

वैशाख १८ र १९ मा सम्पन्न कोशी लगानी सम्मेलनमा ४६ वटा परियोजना निर्माणका लागि एक खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ लगानीका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेका व्यवसायीलाई सहजीकरण गर्न थालिएको छ ।

लगानी प्राधिकण, कोशीका कार्यकारी निर्देशक सरोज कोइरालाले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर)का लागि व्यवसायीसँग समन्वय हुन थालेको बताएका हुन् । एमओयू भएका सबै परियोजनामा लगानी भित्र्याउने गरी प्राधिकरणले काम गरिरहेको जनाएको छ ।

सम्मेलनमा पाँचतारे होटेल, रिसोर्ट, अस्पताल, पर्यटकीय ताल, विद्युतीय सवारी, क्लिंकर उत्पादन, केबुलकार, पोडवे, कोदोको रक्सी ब्रान्डिड, सौर्य ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न एमओयू भएको छ । स्थापित व्यावसायिक घरानादेखि नयाँ व्यवसायी र गैरआवासीय नेपालीको समूहले मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सोलुखुम्बु, झापा, ताप्लेजुङ, इलाम, खोटाङलगायतका जिल्लामा विभिन्न परियोजनामा लगानीका लागि प्रस्ताव गरेका छन् ।

३२ अर्ब लागतमा ‘उदयपुर क्लिंकर’ उद्योग खोल्ने प्रस्ताव, क्लिंकरको सहर बनाउने सरकारको योजना 

लगानी सम्मेलनका क्रममा सबैभन्दा ठुलो लगानी प्रस्ताव उदयपुर जिल्लामा क्लिंकर उद्योग स्थापनाका लागि भएको छ । व्यवसायी सन्तोषमणि न्यौपानेले गैरआवासीय नेपालीसँगको साझेदारीमा ३२ अर्ब रुपैयाँ लगानी गरी उदयपुरमा क्लिंकर उत्पादनका लागि समझदारी भएको छ । न्यौपानेको अस्पताल तथा कलेजमा लगानी छ । लगानी सम्मेलनमा भएको समझदारीअनुसार उदयपुर क्लिंकर उद्योग सञ्चालनमा आएपछि दैनिक १० हजार टन क्लिंकर उत्पादन गर्नेछ । यो परियोजना सफल भएको खण्डमा प्रदेश सरकारको पहलमा अन्य क्लिंकर उद्योगसमेत थपेर उदयपुरलाई ‘क्लिंकर सिटी’ बनाउने सरकारी योजना छ । उदयपुरमा हाल सञ्चालित सरकारी स्वामित्वको सिमेन्ट उद्योग र सरकारी चुनढुंगा खानीलाई भने यो परियोजनाले कुनै असर गर्नेछैन । 

हाइड्रोजन युरिया मल उद्योगमा अर्ब लगानी
एमओयू भएको दोस्रो ठुलो परियोजना हो, २६ अर्ब लागतको ग्रिन हाइड्रोजन युरिया मल उद्योग । सुनसरी वा उदयपुरमा स्थापना गरिने उद्योगले पहिलो वर्ष नै दुई लाख टन रासायनिक मल उत्पादन गर्ने लक्ष्य राखेको छ । गालबकुमार ढुंगाना लगानीकर्ता रहेको यो परियोजनालाई काठमाडौं विश्वविद्यालयले पनि प्राविधिक सहयोग गर्ने भएको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४, हात्तीमुढामा ढुंगानाले आठ मेगावाटको सोलार ऊर्जा उद्योग स्थापना गरेर विद्युत् प्राधिकरणलाई बिक्री गरिरहेको छ ।

वराहक्षेत्र र हलेसीमा केबुलकार, २६ अर्ब लगानी प्रस्ताव
मुक्तिनाथ केबुलकारका सञ्चालक अरुण सुवेदीले १६ अर्ब लगानीमा वराहक्षेत्र केबुलकार निर्माणका लागि रुचि देखाएका हुन् । यो केबुलकार वराहक्षेत्रदेखि धनकुटाको खोकुछिन्ताङसम्म निर्माण हुनेछ । त्यस्तै, हलेसीमा १० अर्ब लगानीमा केबुलकार निर्माण गर्न पुजन चौधरीले एमओयू गरेका छन् ।

पोडवेमा दुई समूह इच्छुक, विराटनगर र इलाममा बन्ने 
पोडवे सेवा सञ्चालन गर्न दुई समूहले प्रस्ताव गरेका छन् । झापाका व्यवसायी वसन्त रिजालले इलामको माइपोखरीदेखि सन्दकपुर हुँदै ताप्लेजुङको फुङ्लिङसम्म ‘माउन्टेन पोडवे’ र विराटनगरको रानीदेखि १२ किमि टाढा उत्तरतर्फको बुढीगंगा गाउँपालिका– २, टंकीमा रहेको विराट टिचिङ अस्पतालसम्म पाँच अर्ब लगानी गरेर ‘कोशी पोडवे’ सञ्चालनका लागि व्यवसायी अस्कर डंगोलको प्रस्ताव छ । 

बेलायत बस्ने नेपालीले गरे कोदोको रक्सी ब्रान्डिङको प्रस्ताव
स्थानीय कोदोबाट उत्पादित रक्सीलाई ब्रान्डिङ गरी विदेशमा समेत निर्यात गर्ने उद्योग स्थापनाका लागि पनि एमओयू भएको छ । हाल बेलायत बस्दै आएका जनक राई र भरत लम्बूले एक अर्ब लागतमा धनकुटामा तिलिचो हिमाल उद्योग स्थापना गरेर वार्षिक १० लाख लिटर रक्सी उत्पादन गर्ने प्रस्ताव छ । यसरी उत्पादन भएको रक्सी विदेशमा समेत निर्यात गर्ने उनीहरूको योजना छ ।

१५ अर्बको बायो इथानोल परियोजना, पेट्रोलमा मिश्रण हुने
पेट्रोलमा मिश्रण गर्न मिल्ने बायो इथानोल केमिकल उत्पादनका लागि एमओयू भएको छ । अमेरिका बस्दै आएका गैरआवासीय नेपाली वेद खरेलको समूहले १५ अर्ब लगानी गरेर इथानोल उत्पादन गर्ने प्रस्ताव गरेका छन् । उनीहरूले झापामा व्यावसायिक रूपले सिमलतरुल खेती गर्ने र त्यसबाट उत्पादित इथानोल पेट्रोलमा मिश्रणका लागि सरकारलाई उपलब्ध गराउने जनाएका छन् । त्यस्तै, बाबुराम गौतम र देवप्रसाद खनालको समूहले पनि चार अर्ब लागतको बायो इथानल परियोजना अघि बढाउन एमओयू गरेका छन् । धनकुटा र उदयपुरमा परियोजना अघि बढाउने प्रस्ताव गरिएको छ ।

बाह्र महिना पर्यटक तान्न बर्जुतालमा एनआरएनको लगानी
सुनसरीको बर्जुताललाई पर्यटकीय नगरीका रूपमा विकास गर्न गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना राईको समूहले चार अर्ब २८ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । बर्जुतालमा बर्सेनि मेला, महोत्सव भए पनि व्यवस्थित पूर्वाधारको अभावमा नियमित रूपले पर्यटक पुग्ने गरेका छैनन् ।

२.४८ अर्बमा विराटनगरमा सुविधासम्पन्न अस्पताल बन्ने
पूर्वमा सुविधासम्पन्न अस्पतालको संख्या थपिने भएको छ । विराटनगरका उद्योगी तथा उद्योग, वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले मोरङको बुढीगंगा– १ मा दुई अर्ब ४८ करोड लगानी गरेर आरआर इन्टरनेसनल अस्पताल बनाउन लागेका हुन् । सो अस्पतालले जटिल रोगको पनि उपचार गर्नेछ । 

दुईवटा पाँचतारे र एउटा होटेल स्तरोन्नति
व्यवसायी प्रत्युश राउतले विराटनगर एयरपोर्ट मोडमा दुई अर्ब ३३ करोड लगानीमा पाँचतारे रोयलटाउन होटेल निर्माण गर्ने भएका छन् । त्यसैगरी, होटेल व्यवसायी पुण्य भट्टराईले एयरपोर्ट मोडमै रहेको एसियाटिक होटेललाई एक अर्ब ७५ करोड खर्चेर पाँचतारेमा स्तरोन्नति गर्ने भएका छन् । उद्यमी विजय चौधरीले पनि दुई अर्ब ३० करोड लगानीमा नयाँ पाँचतारे होटेल ल्याउने भएका छन् ।