
चीनको जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ। टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डलले दरबार क्षेत्रभित्रको राष्ट्रिय कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, तस्मारी क्षेत्र, खँला र तालाक्व क्षेत्रको भ्रमण गरेको थियो। अवलोकनका क्रममा उपाध्यक्ष चिएले भक्तपुरको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा र भूकम्पपछिको पुनर्निर्माण कार्यको प्रशंसा गरेका थिए। उनले नेपाल–चीनबिचको सम्बन्ध सधैँ सुदृढ रहने विश्वास व्यक्त गर्दै सांस्कृतिक आदान–प्रदानलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
उनले २०७२ सालको भूकम्पपछि भएका पुनर्निर्माण प्रयास र सहकारी गतिविधिप्रति पनि चासो देखाएका थिए। भ्रमणपछि सांसद सुवालले पार्टी प्रकाशनहरू तथा नगरप्रमुख प्रजापतिले नगरपालिका प्रकाशन, भादगाउँले टोपी र मयुर झ्याल उपाध्यक्ष चिएलगायतलाई उपहारस्वरूप प्रदान गरेका थिए।