१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
शिल्पा कर्ण काठमाडाैं
Invalid date format o७:२४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रिहापछि मिश्रले भने, धेरै खुसी हुने पक्षमा छैन, अझै मुद्दा बाँकी नै छ

सर्वोच्चको आदेशसँगै मिश्र ५० दिनमा थुनामुक्त 

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२४:oo

सर्वाेच्चले भन्यो–

  • मिश्रसँग सम्बन्धित अधिकांश प्रमाण संकलन भइसकेको देखियो,  हिरासतमै राख्नुपर्नेसम्मको अवस्था देखिएन
  • मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने 

सर्वोच्च अदालतको आदेशसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र शुक्रबार हाजिरी जमानीमा थुनामुक्त भएका छन् । उनी १५ चैतमा तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी ५० दिनदेखि काठमाडौं प्रहरीको  हिरासतमा थिए । प्रहरीले उनीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको शुक्रबारकै इजलासले मिश्रबाट संकलन हुनुपर्ने प्रमाण संकलन भइसकेको र हिरासतमै राख्नुपर्ने अवस्था नदेखिएकाले कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गर्न आदेश दिएको थियो । प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै मिश्रकी पत्नी सारिका कार्की मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वाेच्च पुगेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतले १० वैशाखमा हिरासतमा राख्न अनुमति दिँदा नै प्रमाण संकलन भइसकेको अवस्था रहेको तथा हाजिर जमानीमा छाड्न ध्यानाकर्षण गराएको विषयलाई पनि सर्वाेच्चले आदेशमा उल्लेख गरेको छ । ‘हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज (मिश्र) निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सोबमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानून व्यवसायीको जिम्मा लगाइ तत्काल थुनाबाट मुक्त गरिदिनू,’ सर्वोच्चले जारी गरेको बन्दीप्रत्यक्षीकरणको आदेशमा छ । यसअघि सर्वाेच्चले बुधबार मात्र बन्दीसहित २४ घन्टाभित्र उपस्थित हुने आदेश गरेको थियो । 

दुई जनाको ज्यान जानेगरी राजावादीहरूले गरेको प्रर्दशनमा अगुवासमेत गरेको प्रहरी दाबी छ । प्रहरीले काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । तर, अब  उनी थुना बाहिरै रहेर मुद्दा लड्ने पाउने भएका छन् । उनीमाथि राज्यविरुद्धको कसूर, संगठित अपराधजस्ता कसूरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

रिहापछि मिश्रले भने, धेरै खुसी हुने पक्षमा छैन, अझै मुद्दा बाँकी नै छ
चैत १५ गतेको घटनामा जो–जोले ज्यान गुमाउनुभयो उहाँहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । तीनकुने घटनामा आरोप लगाएजस्तो होइन । मजस्तो मान्छेले योजना बनाएर गराएको घटना पनि होइन । तर ती घटना हुन गए । ठूलो आन्दोलन भएपनि त्यो कहिले पनि आयोजकको वा सरकारको नियन्त्रणमा हुँदैन । ०४६ सालको, ०६२/६३ सालको आन्दोलन, मधेस आन्दोलन, थारु आन्दोलन, हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै हुनाले मैले बारम्बार सामाजिक सञ्जालमा गर्ने टिप्पणीमा शान्तिपूर्ण संक्रमणबाट समझदारीमा जाउँ भन्थेँ । अहिले म हाजिर जमानीमा छुटेको हुँ । त्यसैले धेरै खुसी हुने पक्षमा छैन । अझै पनि त्यो मुद्दा बाँकी नै छ । अहिलेसम्मलाई पार्टिभित्र, पार्टिबाहिर, मिडियाका, देशविदेशका शुभेच्छुकहरूलाई, जसले विश्वास गर्नुभयो उहाँहरू सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।

इच्छाराज तामाङ थुनामै रहने
सहकारी ठगीसम्बन्धी कसूर, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पुर्व सांसद इच्छाराज तामाङ थुनामै रहने भएका छन् । सर्वोच्च अदालतले कानूनबमोजिम गर्नू भनी आदेश दिएपछि यस अघिकै आदेशले निरन्तरता पाउने भएको छ । 

थुनुवाका रुपमा रहेका उनले गत माघ तेस्रो साता सर्वोच्चमा निवेदन दिएका थिए । जसमाथि संयुक्त इजालसले कानूनबमोजिम गर्न आदेश गरेको हो । न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानले यस्तो आदेश गरेका हुन् । ‘कानूनबमोजिम गर्नू भन्नाले यसमा केही गरिरहन परेन भन्ने नै हो,’ सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेयले भने, ‘यसर्थ यस अघिकै अदालतबाट भएको आदेशले निरन्तरता पाउने भयो ।’

पूर्वसांसद समेत रहेका तामाङले सिभिल सहकारीको हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । यी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् ।