
शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद सीताकुमारी राणाले रैथाने कृषि उत्पादनले मानव स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले शैक्षिक पाठ्यक्रममा यस विषयलाई अनिवार्य समेट्नुपर्ने बताइन्। विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमा चामल, कोदो, आलुलगायतको रैथाने उत्पादनका परिकार खाजाको रूपमा व्यवस्था लागू गर्नुपर्नेमा उनले जोड दिइन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद शान्ति चौधरीले वर्षायाम सुरु हुन लागेकाले देशैभरका निर्माणाधीन सडक समयमा सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनको माग गरिन् ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसँगै विद्युतमा समस्या देखिएकाले सरकारको ध्यानाकर्षण गराए।
एमालेकी सांसद सुनिता बरालले भोलिदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास र समावेशी सहअस्तित्वजस्ता महत्त्वपूर्ण विषयवस्तु समेटिएको बताइन् । यसले नेपाललाई विचार–विमर्श र समस्या समाधानका केन्द्रको रूपमा चिनाउने अवसर प्रदान गरेको उनले बताइन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले घोकन्ते विद्यालाई भन्दा व्यावहारिक विद्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।