
इरान र अमेरिकाबिचको वार्ता जोखिमका बाबजुद विगत सात वर्षयताकै सबैभन्दा गम्भीर कूटनीतिक अवसर हो
अमेरिका र इरानका वार्ताकार ओमनमा चौथो चरणको आणविक वार्तामा जुटेका छन् । गहिरो मतभेद र सीमित समयका बाबजुद वर्षौंपछि पहिलोपटक केही आशा देखिएको छ, किनभने दुवै पक्षले द्वन्द्वभन्दा कूटनीति रोज्नुपर्ने महसुस गरेका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्छ र पछिल्लो अमेरिकी गुप्तचर रिपोर्टले पनि इरान अहिले बम बनाइरहेको छैन भनेको छ । तर, २०१८ मा ट्रम्पले अमेरिका २०१५ को संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए) बाट हटेपछि इरानले युरेनियम प्रशोधन तीव्र रूपमा बढाएको छ । हाल इरानसँग ६० प्रतिशत प्रशोधित युरेनियम पर्याप्त मात्रामा छ, जसले इरानलाई ६ महिनाभित्र आणविक बम बनाउन सक्षम बनाउँछ । यद्यपि, पूर्ण हतियार निर्माणमा एक–दुई वर्ष लाग्न सक्छ ।
यस्तो अवस्था पश्चिमा मुलुकका लागि यो अस्वीकार्य छ । यदि जुन महिनाको अन्त्यसम्म कूटनीतिक प्रगति भएन भने अमेरिका राष्ट्र संघको प्रतिबन्ध पुनः लगाउने (स्न्यापब्याक) प्रक्रिया थालनी गर्न बाध्य हुनेछ । यसले बाँकी रहेको कूटनीतिक सम्भावनालाई समाप्त पार्नेछ, इरानलाई आणविक अप्रसार सन्धि (एनपिटी) बाट फिर्ता गराउन सक्नेछ र सैन्य द्वन्द्वको जोखिम बढाउनेछ । ट्रम्प एउटा यस्तो व्यापक सम्झौता चाहन्छन्, जसले जेसिपिओएभन्दा अगाडि बढेर इरानको युरेनियम प्रशोधन, मिसाइल विकास र क्षेत्रीय भूमिकामा पनि नियन्त्रण लगाओस् । विशेषतः निकै छोटो समयभित्र इरानले आफ्नो पूरै आणविक कार्यक्रम फिर्ता गर्ने वा क्षेत्रीय गठबन्धन त्याग्ने सम्भावना नभएकाले यो आकांक्षा वास्तविक छैन । त्यसैगरी इरानले आफ्नो प्रतिरोध क्षमता कायम राख्न आवश्यक ठानेका प्रशोधन र ब्यालिस्टिक क्षमता पनि त्याग्न तयार छैन ।
उसो त परिस्थिति निकै जटिल छ तर कूटनीतिक समाधानका ढोका अझै खुला नै छन् । अमेरिका र इरान दुवैले सैन्य टकराव टार्न सीमित सम्झौतामा पुग्ने सम्भावनालाई खुला राखेका छन् । ट्रम्पको आक्रामक बयानबाजीका बाबजुद उनी नयाँ युद्ध सुरु गर्न इच्छुक देखिँदैनन् । उनले इरानप्रति कठोर धारणा राख्ने राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जलाई हटाउनु र ६ मेमा यमनका हुथी विद्रोहीसँग युद्धविरामको घोषणा गर्नु यसैको संकेत हुन् । इरान अहिले कमजोर भएको अवस्थामा ट्रम्प र उनका खाडीका सहयोगी वार्तामार्फत समाधान खोज्न चाहन्छन् । युक्रेन–रुस संघर्षमा उनीहरूको कूटनीतिक प्रयास असफल हुँदै गएकाले इरानसँगको वार्ता नै ट्रम्पको सम्भावित कूटनीतिक सफलता बन्न सक्छ ।
इरानले सुरुमा औपचारिक वार्ता अस्वीकार गरेको थियो, पछि यसले अन्ततः ओमनमार्फत अप्रत्यक्ष वार्तामा सहमति जनायो, जुन प्रत्यक्ष वार्तामा पुग्ने सम्भावनाको संकेत हो । यो परिवर्तन इरानी शासक वर्गले निरन्तर आर्थिक र कूटनीतिक एक्लोपनले बढ्दो मूल्य चुकाउनुपर्ने महसुस गरेको संकेत हो । इरानका लागि प्रतिबन्ध हटाउनु अर्थतन्त्रको संकट टार्न र सामाजिक अस्थिरताको जोखिम कम गर्न अनिवार्य भएको छ । इरानले ट्रम्पलाई शत्रु नेता माने पनि केही अधिकारीले उनलाई नयाँ युद्ध नगर्ने इच्छा र कूटनीतिक ‘सफलता’ खोज्ने चाहना भएको र स–साना अवसर खोज्ने नेता भनेर टिप्पणी गर्छन् । इरानले हुथीहरूलाई युद्धविराममा सहमत गराउन दबाब दिएको भन्ने रिपोर्टले पनि यही देखाउँछ । इरानको क्षेत्रीय समर्थक एवं अमेरिकाको एक प्रमुख चासो हुथी विद्रोहीको युद्धविरामलाई लिएर केही हदसम्म वार्ताको वातावरण सुधारेको छ । तर, मुख्य अड्चन इरानको युरेनियम प्रशोधन क्षमता हो । इरानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अघि सारेको नागरिक प्रयोजनका लागि आवश्यक युरेनियम विदेशबाट आयात गर्नुपर्ने प्रस्ताव अस्वीकार गरिसकेको छ ।
इरान युरेनियम प्रशोधनलाई आफ्नो सार्वभौम अधिकार मान्छ । तर, उसले सीमित सम्झौतामा चासो देखाएको छ, जसले प्रशोधनमा सीमा लगाउने, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निरीक्षण सुनिश्चित गर्ने र हतियार निर्माण नगर्ने सर्त लगाउनेछ । ट्रम्पले पनि ४ मेमा उनको लक्ष्य इरानलाई आणविक हतियारबाट रोक्नु हो, नागरिक आणविक कार्यक्रम अन्त्य गर्नु होइन भनेका छन् । उपराष्ट्रपति जेडी भान्सले पनि ७ मेमा इरानले शान्तिपूर्ण आणविक ऊर्जा प्रयोग गर्न सक्छ । तर, हतियारनजिक पुग्ने प्रशोधन गर्न पाउँदैन भनेका छन् । यस्तो भिन्नताले सीमित भए पनि सम्झौताको आधार तयार गर्न सक्छ ।
यो अमेरिकाले चाहेको आदर्श समाधान होइन । दुई महिनाभित्र अविश्वासपूर्ण पक्षबिच ठुलो सम्झौता असम्भव छ । वार्ता असफल भए ट्रम्पले आक्रमण गर्ने चेतावनी दिइसकेकाले सीमित सम्झौता सैन्य विकल्पको एक मात्र विकल्प हो । तर, सफलता सुनिश्चित हुने अवस्थामा ट्रम्पले अघिल्ला कडा अडानबाट पछि हटेका इतिहास हामीले देख्न पाउँछौँ । यदि प्रगति भयो भने अमेरिकाले प्रतिबन्ध ढिल्याउन सक्छ । अर्थात्, युरोपमाथि दबाब दिएर वा नयाँ सुरक्षा परिषद् प्रस्तावमार्फत विलम्ब गर्न सक्छ । युरोप, रुस र चीनले पनि संकट टार्न यस्तो प्रयासमा साथ दिन सक्छन् ।
यसैबिच अमेरिका खाडी क्षेत्रमै बी–२ बमवर्षकसहित सैन्य तयारीमा छ, जसले वार्तामा दबाब र आक्रमणको तयारी दुवैको काम गर्छ । यस अवस्थामा पनि वार्ता असफल हुन सक्छ । इरानले सर्त अस्वीकार गर्न सक्छ, ट्रम्पले अपर्याप्त मानेर कडा कदम चाल्न सक्छन् । आक्रमण भए इरानले प्रत्याक्रमण गर्नेछ र इरान आणविक हतियार निर्माणतर्फ अघि बढ्नेछ । तसर्थ, इरान र अमेरिकाबिचको वार्ता जोखिमका बाबजुद विगत सात वर्षयताकै सबैभन्दा गम्भीर कूटनीतिक अवसर हो ।
(ब्रेमर युरेसिया ग्रुप एवं जिजिरो मिडियाका संस्थापक एवं अध्यक्ष हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट