Skip This
मखन आगलागी : भाडामा बस्नेको विवरण घरधनीले नराख्दा एक महिलाको जलेर मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार २o:३१:oo
Read Time : > 1 मिनेट
समाचार

मखन आगलागी : भाडामा बस्नेको विवरण घरधनीले नराख्दा एक महिलाको जलेर मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार २o:३१:oo

आगो सल्किएको घरमा को-को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौंमा आज एक ज्येष्ठ नागरिकको ज्यान गएको छ। बिहान करिब ६ः ५० तिर काठमाडौं महानगर–२४, मखनस्थित दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो। आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका दुई घरमा क्षति भएको थियो। आगोले जलेका तीनवटै घर भाडामा दिएर घरधनी अन्यत्र बस्दै आएका थिए। आगो सल्किएपछि घरमा भएका एक महिला, एक पुरुष र एक बच्चाको उद्धार गरिएको थियो। यद्यपि, घरमा को-को बस्थे भन्ने जानकारी घरधनीलाई नहुँदा एक ज्येष्ठ नागरिकको उद्धार नहुँदा मृत्यु भएको छ।

आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौं र ललितपुरका दमकल, अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहित सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरेका थिए। आगलागी नियन्त्रणमा बारुण यन्त्र ढिला पुगेको स्थानीयको दु:खेसो छ।   

काठमाडौं महानगर–२४, का अध्यक्ष विनोदकुमार राजभण्डारीले घरको तेस्रो तलामा चिया पकाउँदा ग्यास लिक भएर आगो सल्किएको जानकारी दिए। सिसिटिभी फुटेजबाट प्राप्त दृश्य उदृत गर्दै उनले भने, ‘एक महिला सडकमा आत्तिएर निस्किएको केही क्षणमा घरमा आगो देखियो। चिया पकाउँदा चुहिएको ग्यासमा आगो सल्किएपछि उनी भागेकी हुन सक्छिन्। यदि उनमा ग्यास चुहिएर सल्किएको आगो नियन्त्रण गर्ने सिप भइदिएको भए आगोले विनाशकारी रूप लिन पाउने थिएन।’

उनले घर भाडामा दिने घरधनीसँग आफ्नो घरमा को-को बस्छन्? थाहा नभएपछि चरिकोटे आमा (करिब ६५ वर्षीया)का नामले चिनिने महिलाको मृत्यु भएको बताए। उनी सडक किनारमा सरसामान राखेर व्यापार गर्थिन्। उनका अनुसार मृत्युको कारण जलेर नभई धुवाँले निसास्सिनु हो। उक्त घरको प्रयोगमा बसोबासभन्दा पनि कस्मेटिक सामानको भण्डारण धेरै थियो। 

घटनापछि महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवलोकन गरेकी छिन्। सो क्रममा उनले ग्यासबाट हुन सक्ने आगलागीको जोखिमबाट नागरिकलाई बचाउन ग्यास, यसलाई बाल्न प्रयोग गरिने साधन तथा उपकरणको अनुगमनलाई बढाउनुपर्ने धारणा राखिन्।