
काठमाडौं महानगरपालिकाले केन्द्रीय कार्यालय काठमाडौं प्लाजामा फोहोर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ । केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहोर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरेको हो । एको महानगरले जनाएको छ ।
बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार यो नमुना योजना हो । यसको नतिजा हेरेर आवश्यकताका आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी छ ।
विभाग प्रमुख राईले भनिन्, ‘हाल कार्यालयबाटै परीक्षण सुरु गरेका छौँ । यहाँ तीन दशमलव ६० मिटर लम्बाइ, एक दशमलव २० मिटर चौडाइ र एक दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र चारवटा च्याम्बर रहेका छन् ।’ वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार शौचालयबाट केही ठोससहितको फोहोर पानी प्लान्टमा पुगेपछि पहिले तरल र ठोस छुट्याइनेछ । त्यसपछि एनएरोबिक विधि (अक्सिजन दिनु नपर्ने विधि)बाट प्रशोधन सुरू हुन्छ । तेस्रो चरणमा भने एरोबिक (अक्सिजन दिनुपर्ने विधि)बाट चौथो चरणमा फिल्टर र किटाणु नष्ट गर्ने कार्य गरिन्छ । यस विधिबाट तयार भएको पानी दुर्गन्धरहित हुन्छ । बोटबिरुवामा सहजै प्रयोग गर्न सकिन्छ ।
विभागका इन्जिनियर रामप्रसाद नेपालका अनुसार महानगरको केन्द्रीय कार्यालय प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । हाल ४४ वटा शौचालयबाट आउने तरल पादर्थलाई नमुनाका रूपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त हुने नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने उनले जानकारी दिए । प्लाजामा दैनिक करिब नौ हजार लिटर पानी प्रयोग हुने गर्छ ।