Skip This
वीरको युरोलोजी विभागमा बिरामीको भिड, तर जनशक्ति र उपकरण अभाव : दैनिक १५० बिरामी अपरेसनको लाइनमा, १० को मात्रै सम्भव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार o६:oo:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वीरको युरोलोजी विभागमा बिरामीको भिड, तर जनशक्ति र उपकरण अभाव : दैनिक १५० बिरामी अपरेसनको लाइनमा, १० को मात्रै सम्भव

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o६:oo:oo

देशकै जेठो सरकारी अस्पताल वीरको युरोलोजी विभागमा दूरदराजदेखि आउने बिरामीको थेगिनसक्नु भिड लाग्ने गरेको छ । तर, जनशक्ति र उपकरण अभावमा उपचार नै नपाउने अवस्था छ । यतिसम्म कि दैनिक १५० बिरामी अपरेसन गर्ने लाइनमा हुन्छन्, तर १० को मात्रै हुन्छ ।

‘युरोलोजीका दैनिक ४५० बिरामी ओपिडीमा आउँछन् । जसमा १५० को अपरेसन गर्नुपर्ने हुन्छ, तर उपकरण र जनशक्तिको अभावका कारण नौदेखि ११ जनाको मात्रै अपरेसन गर्न सम्भव भएको छ,’ युरोलोजी विभाग प्रमुख डा. रविन बस्नेतले भने, ‘हामीसँग जे–जस्तो स्रोत–साधन छ, सोहीअनुसारको सेवा दिने हो । धेरै अपरेसन गरौँ भनेर मात्रै भएन, अपरेसनजस्तो विषय सामान्य होइन । बिरामीको भिड थेग्न सकिएको छैन, आउनेलाई नआउनुस् भन्न पनि मिलेन ।’ पछिल्लो एक सातामा विभागले साना–ठुला गरी ६३ वटा मात्रै अपरेसन गरेको उनले बताए । 

वीरमा सबै गरेर १५ अपरेसन थिएटर छन् । युरोलोजी विभागले दैनिक दुई थिएटर प्रयोग गर्छ । सातामा चार दिन अपरेसन गर्ने विभागले आठवटा थिएटर प्रयोग गर्छ । डा. बस्नेतका अनुसार वीरमा अपरेसनमा प्रयोग गरिने औजार सीमित मात्रै छैनन्, अपडेट पनि भएका छैनन् । नौ वर्ष पुराना उपकरणले काम चलाउने गरिएको छ । यही पनि अभावका कारण एउटा विभागको अपरेसन सकिएपछि अर्को विभागले प्रयोगमा लैजाने गरेको छ । त्यस्तै, युरोलोजी विभागमा १८ विशेषज्ञ चिकित्सक चाहिनेमा ६ जना मात्रै छन् । अरू ६ जना आवासीय चिकित्सक छन् । एनेस्थेसिया र नर्सको पनि अभाव छ । नर्स अपरेसनको संख्याअनुसार आवश्यकताका आधारमा अन्य विभागबाट बोलाएर परिचालन गरिन्छ । डा. बस्नेतले लेजर, ल्याप्रोसकोपी, ढुंगा फुटाल्ने औजारलगायत उपकरण पनि अभाव रहेको बताए । 

‘अपरेसन थिएटर, उपकरण र जनशक्ति सबै अभाव छ । त्यसैले ओपिडीमा आएका बिरामीको संख्याअनुसार अपरेसन गर्न नसकेको सत्य हो,’ विभाग प्रमुख डा. बस्नेतले भने, ‘हप्तामा चार दिन मात्रै विभागमा अपरेसन हुन्छ । मंगलबार एकजनाको मिर्गौला प्रत्यारोपण हुन्छ भने अन्य अपरेसन सोमबार, बुधबार र बिहीबार गरी तीन दिन गरिन्छ ।’

युरोलोजी विभागमा पिसाब, मिर्गौला र पत्थरीको समस्या भएका बिरामीहरू आउँछन् । अस्पताल निर्देशक डा. दिलीप शर्मा सीमित स्रोत–साधन भएका कारण बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको बताए । ‘वीरमा धेरै बिरामी आउँछन्, तर स्रोत–साधन सीमित छ । कतिपयले लामो समय पनि पालो कुर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर, अन्तिम आस यहीँ हो भनेर आएका बिरामीलाई सकेसम्म उपचार गरिरहेका छौँ । भन्नेबित्तिकै विशेषज्ञ चिकित्सक थप्न सम्भव छैन । स्वास्थ्य मन्त्रालयले मात्रै निर्णय गरेर पुग्दैन, अर्थले पनि स्वीकृति दिनुपर्छ ।’ 

युरोलोजीका कतिपय बिरामीले एक वर्षसम्म पनि पालो कुर्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । केही चिकित्सकहरू समयमा काममा नआउँदा पनि बिरामी मारमा परेको प्रशासनका एक कर्मचारीले बताए । उनले भने, ‘कतिपय चिकित्सकहरू समयमा आइदिनुहुन्न, जसकारण अपरेसन संख्या घट्छ र बिरामी मारमा पर्छन् । बिरामीको चाप धेरै भएपछि कुराउनुको विकल्प छैन, अहिले करिब एक वर्षसम्मका लागि पनि पत्थरीलगायतको अपरेसन कुरेका बिरामीहरू हुनुहुन्छ ।’ 

वीरमा न्यूरो, प्लाष्टिक सर्जरी, अर्थोपेडिक, युरोजोलीलगायत गरी सात वटा मुख्य विभाग छ । तर यी मध्ये सबैभन्दा बढी विरामीको चाप थेप्ने विभाग युरोलोजी नै हो । अस्पतालका निर्देशक डा शर्माले जनशक्ति र स्रोतसाधनको अभावका कारण अपरेशनका विरामीलाई कुराउनुपर्ने बाध्यता रहेको बताए । ‘हाम्रो सा्रेतसाधन र जनशक्तिले भ्याली  कसैलाई पर्खाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबैभन्दा बढी अपरेशन गर्ने विभाग युरोलोजी नै हो तर त्यहाँ नै बढी गुनासो आउने गर्छ ।’