१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
कञ्चनपुरस्थित गड्डाचौकीमा चेकजाँच गर्दै नेपाली सुरक्षाकर्मी ।
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख २६ शुक्रबार o८:२९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारत र पाकिस्तानबिच तनाव चर्किएपछि सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o८:२९:oo

भारत र पाकिस्तानबिच तनाव चर्किएपछि कञ्चनपुरका सीमावर्ती क्षेत्रमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जम्मु–कस्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि बदलामा भारतले २४ वैशाखमा पाकिस्तानका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । पहलगाम घटनालगत्तै भारतले कञ्चनपुरका सीमा क्षेत्रमा चेकजाँच कडाइ गर्दै आएको थियो । दक्षिण एसिया क्षेत्रीय शक्तिराष्ट्रहरूबिचको युद्धले नेपालमा समेत असर पर्न सक्ने भन्दै सरकारले देशभरका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । 

बुधबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रमा सुरक्षा बढाउने निर्णयअनुरूप कञ्चनपुरमा पनि सुरक्षा सतर्कता बढाएको जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दुई देशबिच देखिएको तनावलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको बताए । उनका अनुसार यसअघि जिल्लामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटमार्फत चेकजाँच कडाइ पारिएको छ । 

‘हामीले नियमित चेकजाँचका साथै अहिले थप जनशक्तिदेखि मोबाइल गस्ती बढाएका छौँ,’ प्रजिअ ढकालले भने, ‘ब्रह्मदेव, गड्डाचौकी, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास, डोकेबजारसहितका विभिन्न खुला नाकामा नेपालबाट बाहिरिने, भारत जाने दुवैतर्फबाट विवरण संकलनदेखिका सुरक्षाका कामकाज अघि बढाएका छौँ ।’ 

सीमावर्ती क्षेत्रमा गस्तीका लागि ४१ मोबाइल टोली बनाएर छोटो तथा लामो गस्तीसमेत बढाएको ढकालले बताए । ‘सीमा क्षेत्रमा सवारीसाधन, यात्रुदेखि सबैलाई चेकजाँच गर्दै आवागमनसमेत हामीले सहज बनाएका छौँ,’ उनले भने, ‘कञ्चनपुरको सम्पूर्ण सीमा क्षेत्रमा उच्च सुरक्षाका कार्यक्रम अघि बढाउँदै कुनै पनि अवाञ्छित एवं शंकास्पद व्यक्ति नेपाल प्रवेश गर्न रोक्छौँ, अहिलेसम्म त्यस्तो दुःखद विषय केही छैन ।’ कञ्चनपुर भारतसँग झन्डै १३० किलोमिटर सीमा जोडिएको छ । 

भारतविरोधी गतिविधि हुन सक्ने भन्दै नेपाली भूमिमा समेत निगरानी 

भारत र पाकिस्तानबिच विवाद चर्किँदै गएपछि भारतले नेपालमा हुने गतिविधिमा समेत निगरानी बढाएको छ । नेपालगन्ज नाकाअन्तर्गत रुपैडिहास्थित सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा भारतविरुद्ध गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गरी निगरानी बढाएको एक भारतीय सुरक्षा अधिकारीले बताए । 

नेपाल प्रवेश गर्ने र भारत जानेमाथि पनि भारतीय सुरक्षा निकायले कडाइ गरेका छन् । परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिएको एसएसबीले हातहतियार तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन तालिम प्राप्त कुकुर प्रयोगसमेत गरेको छ । ‘पहिलेकोभन्दा पछिल्लो समय अझ धेरै कडाइ गरिएको छ । परिचय खुल्ने कागजातसँगै तालिम प्राप्त कुकुरमार्फत हातहतियार र विस्फोटक पदार्थ भए–नभएको जाँचसमेत गरिन्छ,’ एक भारतीय अधिकारीले भने । 

एसएसबीले परिचयपत्र भएकालाई मात्र नेपाल आउन र जान दिने भएकाले केही सहज भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए । उनले भारत–पाकिस्तानबिच विवाद बढ्दै गएपछि नेपालतर्फ आउनेमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको बुढाथोकीले बताए । ‘परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ । परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको छ,’ उनले भने ।

सीमामा नेपाल–भारतका सुरक्षा निकायको संयुक्त गस्ती

भारत र पाकिस्तानबिचको विवाद तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा कडाइ गरेको छ । रुपन्देहीको बेलहियासहितका सीमानाकामा नेपाल र भारतका सुरक्षा निकायबिच संयुक्त गस्तीसमेत थालिएको छ । सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ रोक्न नेपालका सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारतीय प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती भइरहेको सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीले बताए । अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै क्षेत्रमा कडाइ गरिएको उनले बताए । ‘सीमा क्षेत्रमा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने काम भइरहेको छ,’ जोशीले भने । शंकास्पद अवस्थामा रहेकाको जाँच र सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए । नेपाली र भारतीय सुरक्षा निकायबिच समन्वय भइरहेको उनले बताए ।