१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको बेलायत भ्रमण : ‘लेटर अफ गुडविल’मा हस्ताक्षर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२७:oo

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नौदिने बेलायत भ्रमण सकाएर मंगलबार नेपाल फर्किएका छन्। प्रधानन्यायाधीशसमेत चार न्यायाधीश र एक रजिस्ट्रारसमेतको टोली स्वदेश फिर्ता भएको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार प्रधानन्यायाधीश राउतका साथै सर्वोच्चका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावल र रजिस्ट्रार विमल पौडेल उक्त भ्रमणमा सहभागी थिए। बेलायत सरकारको निमन्त्रणामा बेलायतको सर्वोच्च अदालतलगायतका अदालतहरूको भ्रमणका लागि पाँच सदस्यीय टोली गत १४ वैशाखमा बेलायत गएको थियो।

भ्रमणका क्रममा बेलायतका सर्वोच्च अदालतका अध्यक्ष द लर्ड रिड अफ एल्लेरमुइर र प्रधानन्यायाधीश राउतले एल्लेरमुइरकै कार्यालयमा १६ वैशाखमा ‘लेटर अफ गुडविल’मा हस्ताक्षर गरेका थिए। दुवै देशका सर्वोच्च अदालतबिचको लामो समयदेखिको सम्बन्धलाई सुदृढ बनाउन दुवै पक्षका न्यायपालिकाबिच उत्कृष्ट अभ्यास एवं पारस्परिक सहयोग आदान–प्रदान गर्न प्रतिबद्धता व्यक्त भएको सर्वोच्चले विज्ञप्तिमार्फत जनाएको छ।

बेलायतस्थित नेपाली राजदूतावासले यस विषयमा १८ वैशाखमा विज्ञप्ति जारी गरेको छ। जसअनुसार लेटर अफ गुडविलमा हस्ताक्षर कार्यक्रममा प्रधानन्यायाधीश राउतले सर्वोच्चले गरेका केही महत्त्वपूर्ण फैसलाहरू उल्लेख गरेका थिए, जसमा बेलायती अदालतका फैसला एवं नजिरहरूलाई आधार लिइएको थियो।

साथै, न्यायिक अभ्यास र अनुभव आदान–प्रदानका लागि दुवै पक्ष सहमत भएकोसमेत विज्ञप्तिमा छ। प्रभावकारी न्याय प्रशासनका लागि न्यायिक जनशक्तिहरूको तालिमलगायतका विषयमा, फैसला लेखन र कानुनी शासनका लागि आपसी समन्वयबारे पनि दुवै पक्षले सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानन्यायाधीश राउतले इंग्ल्यान्ड र वेल्सका लेडी चिफ जस्टिससँग पनि न्यायिक संयन्त्रबारे दुई देशबिच सम्भावित सहकार्यबारे छलफल गरेका थिए। यसबाहेक हाउस अफ कमन्सका सभामुखसँग पनि राउतले भेटघाट र छलफल गरेको दूतावासले जनाएको छ। उनीसँग विविध आपसी सहकार्यका विषयमाथि कुराकानी भएको र अन्य न्यायाधीश, प्राध्यापक तथा न्याय क्षेत्रका व्यक्तित्वहरू र बेलायती जनप्रतिनिधिसँग भेटवार्ता भएको विज्ञप्तिमा जनाइएको छ।