
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा एकै घरका चारजना दृष्टिविहीनको घर बन्न सुरु भएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि घर निर्माण थालिएको हो । एकै घरका चारजना दृष्टिविहीन २३ वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गंगा, जमुना र मनीषा जन्मजात नै दृष्टिविहीन हुन् । मनीषा दृष्टिविहीनसँगै बहुअपांग छिन् । १६ वर्षीया मनीषा हिँडडुल पनि गर्न सक्दिनन्।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको गरायला घर भएका उनीहरू ०६८ सालमा दाङको तुलसीपुर झरे । आमा रूपाले चार छोराछोरीलाई तुलसीपुर लिएर आएकी हुन् । सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्काे विवाह गरे । त्यसपछि रूपालाई कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तत्कालीन अवस्थामा दाङको तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो ।
विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा उनीहरू दाङको तुलसीपुर आएपछि भाडाको घरमा बस्दै आएका छन् । ‘कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसको घरमा,’ गणेशले भने, ‘लामो समय कसैले पनि बस्न दिएनन् ।’ यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरूको अहिले घर निर्माण हुन थालेपछि भने खुसी छन् । सारंगी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्छन् । त्यसैले घर खर्च चल्ने गरेको थियो । तर,अब घर बनेपछि भाडा तिर्नुपर्ने अवस्था नआउने गणेशले बताए । ‘भाडा तिर्न पनि गाह्रो हुन्छ,’ गणेशले भने, ‘घर बनेपछि भने अब सहज हुने भयो ।’
करिब १५ लाखजति लागतको अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए । ‘सबै सन्तान दृष्टिविहीन, घरवास पनि भएन,’ उनले भने, ‘त्यसपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ ।’ अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनको भनाइ छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।
निर्माण भइरहेकाले लाग्ने सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उनले बताए । दृष्टिविहीन गणेशसहित गंगा, जमुना गुरुगजुर नमुना माविमा ब्रेललिपिमार्फत अध्ययन गर्छन् । हाल आमा रूपाको खातामा विभिन्न संघसंस्थाको सहयोगमा १० वर्षअघि सात लाख रुपैयाँ सहयोग संकलन भएको थियो । त्यो रकम बैंकमा मुद्दती खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घरखर्च चलाउन सजिलो भएको छ ।