
प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
रत्न राजमार्गअन्तर्गत बाँसगढी नगरपालिका–१, चेपाङमा प्रहरीले चेकजाँचका क्रममा लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई अफिससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवन राप्ती नगरपालिका–११, आरपानीका २७ वर्षीय कुमार वाइबा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए। उनले भने, ‘वाइबाले भिरेको कालो झोलाभित्र २२ वटा पोकामा २१ किलो ५ सय ६७ ग्राम अफिम फेला परेको छ। दुवैजनालाई सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी अनुसन्धान भइरहेको छ।’