
पाहुना टोली इरानीले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि हात पारेको हो। इरानी टोली समूह ‘ए’ र पुलिस समूह ‘बी’को विजेता हो।
खेलको पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेटमा भने २४–२६ ले पछि परेको थियो। दुई सेट सकिँदा १–१ को बराबरीमा भएको खेलमा त्यसपछिको लगातार दुई सेट (तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले) आफ्नो पक्षमा पार्दै इरानी टोलीले उपाधि हात पारेको हो।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा विभागीय डर्बीमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो।
खेलको पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मी तेस्रो सेटमा भने २२–२५ ले पछि परेको थियो। चौथो सेटमा लयमा फर्कँदै आर्मीले २५–२३ ले एपिएफलाई पछि पार्दै तेस्रो स्थान हात पार्न सफल भएको थियो।
प्रतियोगिताको विजेता इरानी टोलीले चार लाख ४४ हजार ४४४ र उपविजेता पुलिसले दुई लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने टोली आर्मीले एक लाख ४४ हजार ४४४ नगद हात परेको छ।