
ऊर्जामन्त्री दीपक खड्काले नेपाल–भारत पावर एक्सचेन्ज कमिटी (पिइसी)को ३० माघमा नयाँदिल्लीमा सम्पन्न बैठकमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको समझदारी अनुमोदन गर्ने भएका छन् । आइतबार सम्पन्न प्राधिकरणको सञ्चालक समितिको बैठकले उक्त समझदारी अनुमोदनका लागि मन्त्रिपरिषद् पठाउने निर्णय भएको एक सञ्चालकले जानकारी दिए । प्राधिकरणको सञ्चालक समिति अध्यक्ष रहेका ऊर्जामन्त्री खड्काले सोही समझदारीलाई कारण देखाउँदै कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए ।
३० माघको पिइसी बैठमा नेपालले भारतको बिहार र उत्तर प्रदेशबाट एक सय ३२ केभी प्रसारणलाइन हुँदै आयात गर्ने विद्युत्को खरिद दर प्रतियुनिट ७.९८ भारुबाट १.५ प्रतिशतले बढाएर ८.१ भारु पुर्याउने समझदारी भएको थियो । पिइसी बैठकमा गरिने समझदारी प्राधिकरणको सञ्चालक समिति र विद्युत् नियमन आयोगबाट अनुमोदन गरेर कार्यान्वयन गर्ने अभ्यास छ । पछिल्लो समझदारी १ अप्रिलदेखि एक वर्षका लागि थियो ।
तर, राजनीतिक प्रतिशोधमा कुलमानलाई हटाउन लागिपरेका ऊर्जामन्त्री खड्काले कार्यान्वयन गर्नुको सट्टा स्वीकृति नलिई राज्यलाई आर्थिक दायित्व बढाउने काम गरेको भन्दै कुलमानलाई स्पष्टीकरण सोधेका थिए । कुलमानलाई हटाउन २२ पुसमा सातदिने, १३ फागुनमा २४ घण्टे र २२ फागुनमा तीनदिने स्पष्टीकरण सोधिएको थियो । त्यसमा १३ फागुन र २२ फागुनको स्पष्टीकरणमा यससम्बन्धी बुँदा समावेश छन् । ११ चैतमा कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिएको थियो । ११ चैतमा कुलमानलाई हटाउँदा मन्त्रिपरिषद्ले देखाएको १० बुँदे कारणमा दोस्रो नम्बरमा यही विषय उल्लेख छ । ‘यही विषयमै कुलमानलाई हटाएको र यही विषय सञ्चालक समितिबाटै अनुमोदन गर्दा समस्या हुने भएपछि मन्त्रिपरिषद् पठाउने निर्णय गरिएको छ,’ उक्त सञ्चालकले भने, ‘अब मन्त्रिपरिषद्ले नै यसबारे निर्णय गर्नेछ । यो समझदारी कुनै पनि हालतमा पहिला नै कार्यान्वयन गर्नुपर्ने थियो । तर, राजनीतिक प्रतिशोधमा कार्यान्वयन नगरेर कुलमानलाई स्पष्टीकरण सोधेर हटाइयो । अहिले यसलाई नै अनुमोदन गरिँदै छ । दोहोरो चरित्र देखाइरहेका छन् ।’
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले आइतबारको बोर्ड बैठकमा यो विषय एजेन्डामा रहेको जानकारी दिए । ‘आइतबारको बोर्ड बैठकमा यो विषय एजेन्डामा थियो । त्यसमा के निर्णय भयो भनेर मलाई जानकारी भने आइसकेको छैन,’ उनले बताए । पिइसीअन्तर्गत भारतको बिहार र उत्तरप्रदेशबाट सन् १९९१ देखि विद्युत् आयात हुँदै आएको छ । त्यसमा आवश्यक निर्णय गर्ने विषयमा प्राधिकरणका कार्यकारी निर्देशकलाई नै अधिकार दिइएको छ ।
बक्यौता पुनरावलोकन प्रक्रियामा आउन उद्योगीलाई अल्टिमेटम
सञ्चालक समितिले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुलको बक्यौता पुनरावलोकन गर्ने प्रक्रियामा आउन आगामी जेठ मसान्तको समय दिइएको छ । त्यस अवधिमा निवेदन दर्ता नगरेमा कानुनअनुसार बक्यौता असुली गर्ने निर्णय भएको एक सञ्चालकले जानकारी दिए । २९ चैतको सञ्चालक समितिको बैठकले प्रशासनिक पुनरावलोकन गर्दा राख्नुपर्ने धरौटी २५ प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाउने निर्णय गरेको थियो ।
तर, हालसम्म कुनै पनि उद्योगी त्यसअनुसार पुनरावलोकन प्रक्रियामा आएका छैनन् । अझै पनि ४९ उद्योगको सवा आठ अर्ब रुपैयाँ बक्यौता छ । त्यसमा ३४ उद्योग भने बक्यौता तिर्ने प्रक्रियामै आएका छैनन् । उनीहरूको मात्रै ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बक्यौता छ । यो माघ ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता हो । यस अवधिको साँवा बक्यौता मात्रै ६ अर्ब ११ करोड रुपैयाँ रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ । साउन ०७२ देखि असार ०७७ सम्मको बक्यौता भने जरिवानासहित २३ अर्ब ४४ करोड रुपैयाँ बक्यौता छ । कुलमानले यो बक्यौता उठाउन खोज्दा सरकारले असहयोग गरेको थियो ।