१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार २o:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग

श्रमिक दिवसमा जोशीको पुस्तक ‘श्रमाटन’माथि विमर्श 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार २o:३७:oo

साहित्यकार बिएन जोशीको संस्मरणात्मक कृति ‘श्रमाटन’माथि विमर्श भएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त कृतिमाथि विमर्श भएको हो। कृति विमर्शको चाँजोपाँचो भने यासाः समूहले मिलाएको हो। 

कार्यक्रममा कवि, लेखक शकुन्तला जोशीले झन्डै तीन दशकअघिको कष्टपूर्ण वैदेशिक रोजगारको यथार्थलाई पुस्तकले मार्मिक तवरले प्रस्तुत गरेको बताइन्। ‘हिजोआज मलेसिया जान सजिलो छ। तर, तीन दशकअघि मलेसिया छिर्न खोज्दा बिएन जोशीले झन्डै ज्यानै गुमाउनुपरेको थियो,’ उनले भनिन्, ‘मलेसियालगायत विभिन्न खाडी मुलुकमा भोग्नुपरेको कष्टपूर्ण र मार्मिक यथार्थलाई श्रमाटनले समेटेको छ।’ पुस्तक पढ्दा आफूले पनि त्यही कष्ट अनुभूति गरेको जोशीको भनाइ थियो। 

कार्यक्रममा अर्का टिप्पणीकार कवि अभय श्रेष्ठले ‘श्रमाटन’ नेपाली युवाहरूको साझा जीवन भोगाइको प्रामाणिक दस्ताबेज भएको बताए। ‘श्रमाटनमा वैदेशिक रोजगारीका लागि मलेसिया छिर्ने क्रममा लेखकले पाएको हन्डर र ठक्करको फेहरिस्त छ। यो उनले खाडी मुलुकमा काम गर्दाका व्यक्तिगत भोगाइको संगालो हो। तथापि, यसले आमनेपाली युवाहरूको साझा भोगाइलाई प्रतिनिधित्व गर्छ,’ उनले भने। साथै, यो पुस्तक आद्योपान्त पठनीय रहेको पनि श्रेष्ठले धारणा सुनाए। 

कार्यक्रममा समीक्षक राजकुमार बानियाँले वैदेशिक रोजगारीको सिलसिला नरोकिएसम्म ‘श्रमाटन’को सान्दर्भिकता रहिरहने बताए। त्यस्तै, अर्का समीक्षक कुमारी लामाले पुस्तकमा दुःख र कष्ट मात्र नभएर रमाइला प्रसंग पनि समेटिएको औँल्याइन्। यो किताबलाई थप परिमार्जनसहित ल्याउन सुझाव पनि लामाले दिइन्। 

कार्यक्रममा लेखक जोशीले यो संस्मरण आफूले तीन दशकअगाडि भोगेको, तर लेखनमा अलि ढिला आएको जानकारी गराए। टिप्पणीकारहरूको सुझाव ग्रहण गर्दै जोशीले अर्को संस्करणमा थप परिमार्जन गर्ने पनि प्रतिबद्धता जनाए। 

पुस्तक नेपाली र अंग्रेजी भाषामा प्रकाशित छ।