
मकवानपुर प्रहरीले करिब ४ किलो अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङका ठाकुरसिं मोक्तान रहेका छन्।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार मोक्तानलाई उनकै घरबाट पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा मोक्तानको घरमा पुगेको प्रहरी टोलीले उनलाई ३ किलो ८६० ग्राम लागुऔषध अफिमसहित फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोक्तानको घर खानतलासी गर्दा उनी सुत्ने खाटमा उक्त परिमाणको लागुऔषध अफिम फेला परेको प्रवक्ता अर्यालले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेका मोक्तानलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले बताए।