
नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। विगत २६ दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थालेपछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
हाल सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो । आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधानप्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न–नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’ २०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौंका सडकमा प्रदर्शन गरिरहेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ। यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक–कर्मचारीलाई काठमाडौं आउन आह्वान पनि गरेको छ । शनिबार शिक्षक महासंघ र शिक्षा मन्त्रालयबिच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। महासंघका अध्यक्ष सुवेदीले सरकार पक्षसँग अनौपचारिक छलफल जारी रहे पनि त्यो अझै निष्कर्षउन्मुख नरहेकाले आन्दोलन जारी राखिएको जनाएका छन् ।