
पोप फ्रान्सिस आप्रवासी एवं गरिबसँग उभिँदा वा विश्व नेतालाई जिम्मेवार ठहर्याउँदा सधैँ आस्था मानवताको सेवामा हुनुपर्छ भन्थे
सन् १९३६ मा अर्जेन्टिनाको ब्युनस आयर्समा जन्मेका पोप फ्रान्सिस (जोर्ज मारियो बर्गोलियो) को २१ अप्रिल २०२५ मा ८८ वर्षको उमेरमा देहावसान भयो । सन् २०१३ को मार्चदेखि सुरु भएको उनको पोप पदावधिले क्याथोलिक चेतनाको पुनः कल्पना गरेजस्तै प्रभाव पारेको थियो । उनी पहिलो जेसुइट, पहिलो ल्याटिन अमेरिकी र एक हजार दुई सय वर्षपछि युरोपबाहिरका पहिलो पोप थिए । उनले विनम्रता, सुधारवादी सोच, संवाद, करुणा र विश्वव्यापी न्यायमा प्रतिबद्धतासाथ पोप पदावधि निर्वाह गरे ।
२२ अक्टोबर २०२३ मा आइतबारको प्रार्थनाको समयमा उनले सार्वजनिक रूपमा अन्तिमपटक बोलेका थिए । उनले गाजामा बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तुरुन्त युद्धविराम र मानवीय सहायता बढाउन आग्रह गरेका थिए । उनले राष्ट्रसंघ र विश्व शक्तिलाई राहत पुगोस् भनेर तुरुन्त हस्तक्षेप गर्न अनुरोधसमेत गरेका थिए । उनको आग्रहको एक वर्षपछि गाजामा ४८ हजारभन्दा बढी मानिस मारिइसकेका थिए, जसमा करिब सात हजार बालबालिका थिए । उनले विपत्तिको आकलन गर्दै त्यो रोकियोस् भन्ने चाहेका थिए ।
पोप फ्रान्सिस आफ्नो पोप पदावधिभरि प्यालेस्टिनी जनताका लागि स्पष्ट एवं मुखर आवाज बने । उनले इजरायलको कब्जा र मानवअधिकार उल्लंघनलाई खुला रूपमा चुनौती दिए । सन् २०२१ मा हमास र इजरायलबिचको द्वन्द्वमा उनले नागरिकको मृत्युको निन्दा गर्दै तनाव कम गर्न माग गरेका थिए । उनले सधैँ दुई–राज्यीय समाधान (टु स्टेट सोलुसन) को समर्थन गरेका थिए र न्याय, मानवीय मर्यादा एवं गरिमा र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारमा जोड दिएका थिए । उनको नैतिक स्पष्टता केवल मध्यपूर्वमा मात्रै सीमित थिएन । फ्रान्सिसले विश्वव्यापी रूपमा युद्धको विरोध गरेका थिए । उनले रुस–युक्रेन युद्धको कडा आलोचना गर्दै हतियारको व्यापार तथा आणविक हतियारको प्रबन्धलाई अस्वीकार्य बताएका थिए । सन् २०१९ मा हिरोसिमामा बोल्दै उनले आणविक हतियारको स्वामित्व नै ‘अनैतिक’ हो भनेका थिए । अन्तरधार्मिक संवादमा पनि उनले क्रान्तिकारी पहल गरेका थिए । इस्लामिक नेतासँग प्रारम्भिक भेटघाटदेखि लिएर सन् २०१९ मा ग्र्यान्ड इमाम अहमद एल–तड्ढयबसँग संयुक्त रूपमा ‘मानवताका लागि दस्ताबेज’मा हस्ताक्षर गर्नेदेखि सन् २०२१ मा इराकमा सिया धर्मगुरु अयातुल्लाह अली अल–सिस्तानीसँग भेटजस्ता उल्लेखनीय पहल लिएका थिए । यी संवादले धार्मिक सहिष्णुता, शान्ति र सहअस्तित्वको सन्देश फैलाए, जुन आजको ध्रुवीकरण र कट्टरता भरिएको विश्वमा झनै आवश्यक थियो ।
कट्टरपन्थीहरूको आलोचना हुँदासमेत पोप फ्रान्सिसले युएई, इजिप्ट र इराकजस्ता मुसलमानबहुल राष्ट्रसँगको सम्बन्ध परस्पर सम्मान र साझा मूल्यमा कायम गरे । उनले उग्रवादका कारण धर्म नभई सामाजिक–राजनीतिक अन्याय हो भन्दै इस्लामलाई हिंसासँग जोड्न अस्वीकार गरेका थिए । पर्यावरणीय न्याय उनको धर्मगुरुपनको केन्द्रमा रह्यो । सन् २०१५ मा प्रकाशित लौदातो सी दस्ताबेजमा उनले जलवायु परिवर्तनलाई नैतिक संकटका रूपमा चित्रित गरेका थिए । सन् २०२१ को कोप–२६ सम्मेलनमा उनले तुरुन्तै पहलकदमी लिन आह्वान गरेका थिए । उनले मृत्युदण्डको समेत विरोध गरे र सन् २०१८ मा क्याथोलिक शिक्षालाई परिमार्जन गर्दै मृत्युदण्डलाई सबै अवस्थामा ‘अस्वीकार्य’ घोषणा गरियो ।
पोप फ्रान्सिसले सैद्धान्तिक जडसूत्रवादभन्दा दया र करुणालाई प्राथमिकता दिए । सन् २०१६ अमोरिस लाएतितियामा उनले सम्बन्धविच्छेद गरिसकेका र समलैंगिक व्यक्तिप्रति सहानुभूतिपूर्ण व्यवहार गर्न आग्रह गरेका थिए, तथापि समलैंगिक जोडीलाई उनले पाप गर्नेलाई ईश्वरले दिएको उपहारको संज्ञा दिएका थिए । उनका यी धारणा उदारवादीदेखि पुरातनपन्थी दुवैले रुचाएनन् ।
प्रधानमन्त्री मोदीसँग दुईपटक भेट भए पनि भारतले उनलाई कहिल्यै औपचारिक निमन्त्रणा दिएन । उनको भारतप्रति गहिरो सम्मानका कारण उनले सन् २०२२ मा आर्कबिसप एन्टोनी पुलालाई पहिलो दलित कार्डिनल बनाए । भारतीय इसाई समुदायमा मौजुदा जात आधारित प्रणालीगत असमानताबिच यो ठुलो कदम थियो ।
फ्रान्सिसको नेतृत्व शैली खुलापन, विनम्रता र पहुँचको प्रतीक थियो । सुरुदेखि नै उनले पोपको भव्यता र विलासिता त्यागे अर्थात् उनी सादा लुगा लगाउँथे, एपोस्टोलिक दरबारमा बस्थेनन् र आफूलाई ‘रोमको एक बिसप’ भनेर सम्बोधन गर्थे । इटालियन आप्रवासी आमाबुबाबाट जन्मेका बर्गोग्लियोले रसायनशास्त्रको अध्ययन गरेपछि सन् १९५८ मा जेसुइटमा प्रवेश गरेका थिए । सन् १९६९ मा उनको धार्मिक अभिषेक भएपछि उनी अर्जेन्टिनाको सैन्य अधिनायकवादका समयमा जेसुइटहरूको प्रान्तीय प्रमुख बने । उनले पछि यस अवधिमा निभाएको भूमिकामा आत्मालोचना गरेका थिए । सादा जीवनशैली र गहिरो सहानुभूतिका लागि चिनिएका उनी सन् १९९८मा ब्युनर्स आयर्सका आर्कबिसप बने र सन् २००१ मा कार्डिनल बनेका थिए ।
उनको पोपकाल एक दशकभन्दा बढी लामो रह्यो, जसमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय भ्रमण समावेश थिए । उनले द्वन्द्वग्रस्त क्षेत्र, शरणार्थी शिविर र साना क्याथोलिक समुदायमाझ भ्रमण गरेका थिए । यी सबै यात्रा उनको भौगोलिक, सामाजिक र आत्मिक रूपमा सीमान्तकृतसम्म पुग्ने धार्मिक प्राथमिकताका अभिव्यक्ति थिए । पोप फ्रान्सिसले हामीमाझ करुणाको साहसी सम्पदा छोडेर गएका छन् । उनले चर्च र विश्व दुवैलाई न्यायपूर्ण, विनम्र र प्रेमिल हुन आग्रह गरेका थिए । आप्रवासीसँग उभिँदा, गरिबलाई अँगालो हाल्दा वा विश्व नेतालाई जिम्मेवार ठहराउँदा उनी सधैँ आस्था मानवताको सेवामा हुनुपर्छ भन्नेमा अडिग रहे । विभाजित विश्वमा पोप फ्रान्सिसले पर्खाल नभई पुल बनाउन आह्वान गरेका थिए । उनले शान्ति, न्याय र करुणा धार्मिक मूल्य मात्र नभई विश्वव्यापी आवश्यकताका रूपमा प्रस्तुत गरेका थिए । अलबिदा पोप फ्रान्सिस !
(डायल मानव अधिकार अभियन्ता एवं लेखक हुन्)
द फेडरल डटकमबाट