Skip This
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएका घाइते
Invalid date format o६:२६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२६:oo
  • भारतीय सञ्चारमाध्यमले सुरक्षा निकायलाई उद्धृत गर्दै प्रकाशित गरेको मृतकको सूचीमा एक नेपाली र एक युएईका नागरिक पनि

भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले विभिन्न समाचार एजेन्सीलाई दिएको विवरणअनुसार बन्दुकधारीले पर्यटकमाथि गोली चलाएका थिए, जसमा नेपाली सन्दीप न्यौपानेको मृत्यु भएको छ । 

भारतीय मिडियाहरूले राति अबेरसम्म दिएको तथ्यांकअनुसार घटनामा दुई विदेशीको मृत्यु भएको छ । दुई विदेशीमध्ये एक नेपाली र एक युएईका नागरिक भएको जनाइएको छ । सन्दीपबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

हमलामा कैयौँ पर्यटक घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा रहेका वेला यो आक्रमण भएको छ । 

घटना भएको पहलगामको बैसरन उपत्यका लेकमा अवस्थित घाँसेमैदान हो । गोली चलेको आवाज सुनेका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले जंगलबाट बाहिर निस्केर अन्धाधुन्ध गोली चलाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी आक्रमणलाई ‘क्रूर घटना’ भन्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रत्यक्षदर्शी एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलेको आवाज सुनेपछि घटनास्थलतिर दौडिएँ । घाइतेमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्‍याएँ ।’

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकमाझ लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोतका अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

आक्रमणस्थल पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले आक्रमणपछि घाइतेको उद्धारका लागि सैन्य हेलिकोप्टर परिचालन गरिएको थियो । भारतका केन्द्रीय मन्त्री अमित साह आक्रमणलगत्तै जम्मु–कस्मिरको राजधानी श्रीनगर पुगेका छन् । त्यहाँ साहले सबै एजेन्सीहरू सम्मिलित सुरक्षा समीक्षा बैठक बसाए । साहले घटनास्थलको अवस्थाबारे साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई जानकारी गराए । प्रधानमन्त्री मोदीले नै साहलाई आक्रमणस्थल पठाएको भारतीय मिडियाले बताएका छन् ।

आक्रमणको जिम्मा लस्कर–ए–तोएबाले लिएको छ । तर, कस्मिर क्षेत्रमा सन् १९८९ देखि भारतबाट अलग हुने वा पाकिस्तानसँग मिल्न पाउनुपर्ने माग राखेर सशस्त्र विद्रोह चलाइरहेका संगठनमध्ये एक हो यो समूह । जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगतको भन्दा निकै ठुलो भएको बताए ।

विपक्षी नेता राहुल गान्धीले आक्रमणलाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला केही वर्षदेखि कस्मिरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकले कस्मिर भ्रमण गरेको सरकारी तथ्यांकले देखाउँछ ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कस्मिरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । योभन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

मृतकको सूचीमा एक नेपाली र एक युएईका नागरिक पनि