
भक्तपुर–काभ्रेपलाञ्चोक हुँदै पूर्व जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको डेढ वर्ष भयो । ०७९ मंसिरमा निर्माण सुरु भएको आयोजना ३६ महिनामा अर्थात् आगामी चैतसम्म सक्नुपर्ने सम्झौता छ । तर, आधा समय घर्किँदासम्म भौतिक प्रगति भने ४० प्रतिशत मात्रै हुँदा समयमै आयोजना नसकिने निश्चितप्रायः भएको छ ।
अरनिको राजमार्गअन्तर्गतको सडकखण्डमा कामको गति बिस्तारै हुँदा साँघुरो र धुलाम्य सडकमा सर्वसाधारणको यात्रा भने कष्टपूर्ण बनिरहेको छ । आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब ४० करोडभन्दा धेरै खर्च भइसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ ।
आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार सूर्यविनायक–साँगा (७.५ किमि) र साँगा–धुलिखेल (८.३ किमि) दुई खण्ड छुट्याएर काम भइरहेको छ । ‘यस क्षेत्रमा विद्युतका पोल, खानेपानीका पाइपलाइन छन्, कतिपय ठाउँमा पानी जम्ने समस्या छ, त्यसले पनि काम गर्न ढिलो भयो, अहिलेसम्म ४० प्रतिशत मात्रै प्रगति भएकाले ०८२ चैतको म्यादभित्र काम सकिने अवस्था देखिँदैन,’ उनले भने, ‘ठेकेदार कम्पनीलाई समयमै काम सक्नका लागि दबाब दिइरहेका छौँ, तर बर्खामा काम गर्न समस्या पर्ने भएकाले पनि समयमै नसकिने हुन सक्छ ।’
बिपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनसहित बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न थालिएको हो । तर, सडक विस्तारमा देखिएको सुस्तताले दैनिक हजारौँ मानिसले सास्ती पाइरहेका छन् । सडक विस्तारका क्रममा हुने सडक अवरोधका कारण अत्यधिक जाम र दुर्घटनासमेत व्यहोर्न बाध्य हुनुपरेको चालकहरू बताउँछन् । आयोजनाले कल्भर्ट बनाउने, नाली निर्माण गर्ने, रिटेनिङ वाल लगाउने, जग्गा अधिग्रहण गर्नेलगायत काम गरिरहेको छ ।
धुलिखेलदेखि खावासम्मको चार किमि सडक पनि ०८२ सम्म विस्तार सक्ने गरी ०७९ मंसिरमै ठेक्का लागेको थियो । तर, ठेकेदार कम्पनी गौरी–पार्वतीले काममा लापरबाही गरेपछि ठेक्का सम्झौता नै तोडिएको छ । अब नयाँ ठेक्का लगाएर काम अगाडि बढाउने सडक विभागले जनाएको छ । यो सडकखण्डमा गौरी–पार्वतीले डेढ वर्षमा १५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको थियो । तर, आर्थिक भुक्तानी भने २० प्रतिशत छ ।