
नेकपा एमाले वीरगन्ज महानगरपालिकाको दोस्रो अधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व सर्वसम्मत हुन नसक्दा निर्वाचन हुने निश्चित भएको छ । गत चैत ३० मा सुरु भएको दोस्रो अधिवेशनको बन्दसत्रले पदाधिकारीमा सर्वसम्मत गर्न नसक्दा निर्वाचन हुन लागेको हो । अधिवेशनको उद्घाटन गरेका पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।
पार्टीलाई बलियो र एकढिक्का बनाउन सर्वसम्मत गराउनुपर्नेमा उनको जोड थियो । यस्तै, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले महानगरको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न दिएको निर्देशनविपरीत यहाँ निर्वाचन हुन लागेको प्रतिनिधिहरूले जनाएका छन् । जिल्लाका नेताहरूको आन्तरिक प्रतिस्पर्धा र जुँगाका लडाइँका कारण अहिलेसम्म महानगरपालिका कमिटीमा सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेको प्रतिनिधिहरूको भनाइ छ ।
दोस्रो अधिवेशनमा वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्षसहितका पदाधिकारीका उम्मेदवार छुट्टाछुट्टै प्यानल नै खडा गरेर मत मागिरहेका छन्। महानगरपालिकामा १०१ सदस्यीय महानगर कमिटी र पाँच सदस्यीय लेखा आयोग रहेको निर्वाचन समितिले जनाएको छ। गत शनिबार साँझसम्म पदाधिकारीबाहेकका सबै सदस्य पदमा सर्वसम्मत सदस्यहरू निर्वाचित भइसकेको प्रमुख निर्वाचन अधिकृत सन्तोषकुमार सिंहले जानकारी दिए । उनका अनुसार शनिबार उम्मेदवारी दर्ता गराएर सर्वसम्मत भएका सदस्य पदको नतिजा सार्वजनिक गरिसकेको अवस्था छ ।
पदाधिकारीमा अहिलेसम्म अध्यक्षमण्डलले सर्वसम्मत नभएको कुनै जानकारी नगराएकाले निर्वाचन हुने अधिकांश सम्भावना रहेको अधिकृत सिंहले बताए। वीरगन्जमा अहिले दुई समूहको झडपले अशान्त बनेको केही स्थानमा निषेधाज्ञा जारी रहेकाले निर्वाचन हुन नसकेको सिंहले बताए । उनका अनुसार अध्यक्ष र उपाध्यक्ष पदमा दुई–दुईजनाको उम्मेदवारी परेको छ भने सचिव पदमा चारजनाको उम्मेदवारी दर्ता भएको अवस्था छ ।
यस्तै, खुला उपसचिवमा पाँचजना र समावेशी उपसचिवमा दुईजनाको उम्मेदवारी दर्ता भएको सिंहले बताए । गत शनिबार साँझ दुई समूहबिच भएको झडपले तनाव भएपछि हालका लागि निर्वाचन प्रक्रिया स्थगित भएको अधिकृत सिंहले बताए ।
को–को छन् पदाधिकारीमा उम्मेदवार ?
वीरगन्ज महानगरपालिकाभित्र पुराना नेकपा एमालेका पार्टीका सदस्यका रूपमा चिनिएका दुईजनाले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।एमालेकै राजनीतिबाट उदाएका वीरगन्ज महानगरपालिका कमिटीका निवर्तमान सचिव सुन्दर कुर्मी र स्थानीय तह गठन हुनुभन्दा अगाडि नगरको नेतृत्व गरिसकेको नवराज शर्मा अध्यक्षका उम्मेदवार बनेका हुन् । यी दुवै अध्यक्ष पदका उम्मेदवार पदाधिकारीमा प्यानलनै बनाएर चुनावी प्रतिस्पर्धामा भिड्न लागेका छन् । नेताहरूका अनुसार नवराज नियमित रूपमा एमाले पार्टीमै आबद्ध छन् भने सुन्दर ०७४ सालको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टी छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा गएका थिए ।
उनी करिब चार वर्षपछि तत्कालीन नेकपा हुँदा बाराको कलैयाको कार्यक्रममा टीका लगाएर पुनः एमालेमै फर्किएका थिए। यस्तै, सुन्दर कुर्मीको प्यानलको उपाध्यक्षमा जले आलम, सचिवमा अनिश अन्सारी, खुला उपसचिवमा आमोद यादव र समावेशी उपसचिवमा अर्चना अधिकारीले उम्मेदवारी दिएका छन् ।लेखा समितिका अध्यक्षमा अवधेश पटेल र सचिवमा राजेन्द्र साहको उम्मेदवारी परेको छ । लेखा समितिको उपाध्यक्षमा अंगद गुप्ता सर्वसम्मत निर्वाचित भइसकेका छन् भने लेखा समितिको अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचन हुनेछ ।
त्यस्तै, नवराजको प्यानलबाट उपाध्यक्षमा रामकिशोर सिंह पराग, सचिवमा लियाकत अली, खुला उपसचिवमा जयनारायणसिंह कुर्मी र समावेशी उपसचिवमा विमला श्रीवास्तवले उम्मेदवारी दता गरेको निर्वाचन अधिकृत सिंहले बताए । प्यानलबाहेक सचिव पदमा लालबाबु यादव र पवन यादवको उम्मेदवारी परेको छ भने प्यानलबाहेक नै खुला उपसचिवमा अनवर अली, मनोज गुप्ता, महम्द आलम देवानले उम्मेदवारी दिएका छन् ।