Skip This
चैतसम्म घरजग्गाबाट ३३ अर्ब राजस्व
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चैतसम्म घरजग्गाबाट ३३ अर्ब राजस्व

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४१:oo
  • अर्थतन्त्रमा आएको मन्दीले शिथिल बनेको रियल इस्टेट क्षेत्र बिस्तारै तँग्रिदै फागुन र चैतमा बढेको कारोबारले व्यवसाय चलायमान हुँदा सरकारले प्राप्त गर्ने राजस्वमा सुधार

घरजग्गा कारोबार लयमा फर्कने संकेत देखिएको छ । चालू आर्थिक वर्ष ०८१/८२ मा उतारचढाव भइरहेको रियल इस्टेट क्षेत्र चैतमा उकालो लागेको हो । मालपोत कार्यालयबाट संकलित तथ्यांकअनुसार चैतमा सबैभन्दा धेरै कारोबार र राजस्व संकलन भएको छ ।

तथ्यांकअनुसार चैतमा कुल ४८ हजार आठ सय ३२ वटा घरजग्गा कारोबार भएको छ भने चार अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसअघि सबैभन्दा धेरै पुस महिनामा ४८ हजार एक सय ५६ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । फागुनमा ४६ हजार ६१ लिखत पारित भएको थियो । अघिल्ला वर्षको तुलनामा यसपटकको कारोबार भने न्यून रहेको विभागले जनाएको छ । गत वर्ष ५० हजार दुई सय ५२ र ०७९ पुसमा ४९ हजार एक सय ५० लिखत पारित भएको विभागले जनाएको छ । चैतमा लिखत पारित, रोक्का–फुकुवा, नामसारी, जग्गा दर्तालगायत विभिन्न शीर्षकमा देशभरका मालपोत कार्यालयबाट एक लाख ४७ हजार चार सय १६ सेवा प्रवाह भएको छ ।

घरजग्गा खरिद–बिक्रीका लागि बैंकले एकल विन्दु ब्याजदरमा कर्जा दिन थालेकाले कारोबार बढेको व्यवसायीको भनाइ छ । अर्थतन्त्रमा आएको मन्दीले प्रभावित भएको रियल इस्टेट क्षेत्र बिस्तारै तंग्रिने दिशामा गइरहेको जग्गा तथा आवास विकास महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनीले बताए ।

पूर्वी तराई झापा, मोरङ र सुनसरी हटस्पट 
घरजग्गा कारोबार संख्यामा पूर्वी नेपाल अग्रस्थानमा रहँदै आएको छ । सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै घरजग्गा किनबेच हुने गरेको विभागको तथ्यांकले देखाउँछ । यस्तै, धनुषा, दाङ, बाँके, कैलाली पनि घरजग्गा कारोबारका नयाँ हटस्पट हुन् । धेरै घरजग्गा कारोबार हुने पुराना हटस्पटहरू काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन, बुटवल, भैरहवालगायत ठाउँहरू पछाडि पर्न थालेका छन् । तर, राजस्व संकलनमा भने काठमाडौं उपत्यका, पोखरा, चितवनका मालपोत अग्रस्थानमा देखिन्छन् । चैत महिनामा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै घरजग्गा कारोबार भएको छ । 

यो मालपोतबाट एक महिनामा १८ सय ९६ घरजग्गाको लिखत पारित भएको छ । पछिल्लो समय इनरुवा मालपोत घरजग्गा कारोबारमा पहिलो वा दोस्रो हुँदै आएको छ । झापाको भद्रपुरबाट १८ सय चार लिखत पारित हुँदा मोरङको बेलबारीबाट १७ सय १४ लिखत पारित भएको छ । प्रायः कारोबार संख्यामा दोस्रो स्थानमा रहँदै आइको बेलबारी चैतमा तेस्रो स्थानमा झरेको छ ।

यस्तै, चैतमा धनुषा मालपोतबाट १५ सय ३४, सप्तरीको राजविराजबाट १४ सय नौ, सर्लाहीको मलंगवाबाट १२ सय ४७, सिराहाबाट ११ सय ६१ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । पश्चिमको कैलालीको धनगढी मालपोतबाट एक हजार ८५, भक्तपुरबाट एक हजार ६१, मोरङबाट विराटनगरमा एक हजार २३ घरजग्गाको लिखत पारित भएको छ । चैतमा सबैभन्दा कम घरजग्गा कारोबार जुम्लाको सिँजा नराकोट मालपोत कार्यालयबाट भएको देखिन्छ । एक महिनामा सिँजामा दुईवटा लिखत पारित भएको छ । जुम्ला सदरमुकाममा रहेको मालपोत कार्यालयबाट ५७ लिखत पारित भएको देखिन्छ ।

उपत्यकाका तीनै जिल्लामा कारोबार उच्च 
चैतमा काठमाडौं उपत्यकामा पनि आर्थिक वर्षकै उच्चदरमा घरजग्गा कारोबार भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नौवटा मालपोत कार्यालयबाट चार हजार चार सय ७९ लिखत पास भएका छन् । कारोबार संख्यामा झापा, मोरङ तथा सुनसरी र त्यसपछि धनुषा, दाङ, बाँके, कैलालीमा उच्च कारोबार भएको विभागले जनाएको छ ।

देशभर रहेका १३५ मालपोतमध्ये ३७ मालपोत कार्यालयबाट सयभन्दा कम लिखत पारित भएको विभागको तथ्यांक छ । चैतमा दुईवटा मात्रै लिखत पास भएको जुम्लाको सिँजा नराकोट मालपोत सबैभन्दा कम कारोबार गर्ने कार्यालय बनेको छ । त्यस्तै, मनाङमा ६, मुस्ताङमा ७, खोटाङमा १३, डढेलधुरामा १५, बझाङमा १५, जोगबुढामा १६, सिद्धिवासमा १६, हुम्ला र मुगुमा समान २४ र अछाममा २५ लिखत पास भएको विभागले जनाएको छ ।

नौ महिनामा पौने चार लाख कारोबार
चालू आवको नौ महिनामा देशभर तीन लाख ७४ हजार एक सय ७१ घरजग्गाको लिखत पास भएको छ । साउनमा देशभरि ४३ हजार आठ सय ३५, भदौमा ३२ हजार सात सय ९८, असोजमा ३० हजार पाँच सय २७, कात्तिकमा ३३ हजार पाँच सय १४, मंसिरमा ४३ हजार तीन सय ७९, पुसमा ४८ हजार एक सय ५६, माघमा ४६ हजार ६९, फागुनमा ४६ हजार ६१ र चैतमा ४९ हजार आठ सय ३२ लिखत पास भएका छन् । 

अनुभूति हुने गरी अझै बढेको छैन, सरकार र राष्ट्र बैंकले थप सुधारका काम गर्नुपर्छ : भेषराज लोहनी, निवर्तमान अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघ
चैतमा कारोबार अलिकति बढेको देखियो । तर, यसैलाई आधार मानेर घरजग्गा लयमा फर्कियो भनिहाल्न मिल्दैन । कारोबार बढ्ने र घट्ने भइरहेको छ । यदि लगातार बढ्दै गएछ भने कारोबार बढ्न थाल्यो भन्न सकिएला । एक महिनालाई हेरेर यसै भन्न सकिँदैन । बजारमा अनुभूति हुने गरी कारोबार बढेको छैन । घरजग्गा खरिद गर्ने ग्राहक बढेको देखिँदैन । अझै पनि घरजग्गा क्षेत्र मन्दीमै छ । हुन त अर्थतन्त्र नै सुस्त देखिन्छ, एउटा क्षेत्र मात्र होइन । घरजग्गा कारोबार बढाउन सरकारले पनि पहल गर्नुपर्ने जरुरी छ । सरकार र राष्ट्र बैंकले केही सुधारका काम गरे घरजग्गा कारोबार बढ्न सक्छ ।