Skip This
पुल निर्माणमा सवा चार लाख भ्रष्टाचार, दुई निमित्त प्रमुख प्रशासकीयसहित आठविरुद्ध मुद्दा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार १७:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुल निर्माणमा सवा चार लाख भ्रष्टाचार, दुई निमित्त प्रमुख प्रशासकीयसहित आठविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १७:२५:oo

पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाका तत्कालीन दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
नगरपालिकाको वडा नं. ५ स्थित किस्री खोला पुल निर्माण गर्दा चार लाख ३१ हजार ४८६ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ। आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा ट्रस पुल निर्माण गर्दा वास्तविक रूपमा फिल्डमा भएभन्दा नापी किताबमा बढी कार्य गरेको उल्लेख गरेर झुटा बिल बनाई भुक्तानी दिएको अख्तियारको आरोप छ। 

आयोजनाका लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रूपमा बढाई भुक्तानीका लागि सिफारिस गरिएको, एउटा आइटम भनेर सस्तो प्रयोग गरेको, गुणस्तरहीन ग्याबिन जाली प्रयोग भएको र गलत भएको जान्दाजान्दै त्यसैलाई स्वीकृत गरेकोलगायतका कमजोरी अख्तियारले औँल्याएको छ।

‘मनासिव कारणविना निर्माण कार्यको गुणस्तर कम गर्ने, आकार परिवर्तन गर्ने, निर्धारित सर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरी त्रिवेणी नगरपालिकालाई गैरकानुनी हानी नोक्सानी पुर्‍याउने बदनियतले चार लाख ३१ हजार ४८६ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी गरे/गराएको देखियो।’ अख्तियारको आरोपपत्रमा उल्लेख छ।  

अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय तीर्थराज थापामगर र खगेन्द्र साउदलाई प्रतिवादी कायम गरेको छ। थापामगरलाई दुई लाख ६ हजार ९३५ र साउदविरुद्ध दुई लाख २४ हजार ५५० रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यस्तै, तत्कालीन इन्जिनियर नवीन साउद र सबइन्जिनियर राजेन्द्रबहादुर विकविरुद्ध चार लाख ३१ हजार ४८६ रुपैयाँ संयुक्त बिगो कायम गरिएको छ।

त्यस्तै, असिस्टेन्ट सबइन्जिनियर राजेन्द्रबहादुर साउदविरुद्ध पनि चार लाख ३१ हजार ४८६ रुपैयाँ नै बिगो अख्तियारले दाबी गरेको छ। किस्री खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मरबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध पनि संयुक्त रूपमा चार लाख ३१ हजार ४८६ रुपैयाँ बिगोदाबी गरिएको छ।