
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले सचिव सुरेश आचार्यलाई बिहीबार स्पष्टीकरण सोधेका छन् । जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सवको कार्यक्रममा प्रमुख अतिथि रहेका तामाङले आफ्नो मानहानि गरेको भन्दै सचिव आचार्यलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन् ।
कार्यक्रम भएको विभागको सभाहलमा प्रवेश गर्दा सञ्चालकले आशनग्रहणका लागि बोलाइए पनि बेवास्ता गरी बाहिरिएको भन्दै सचिव आचार्यमाथि स्पष्टीकरण सोधिएको हो । विभागका महानिर्देशक सञ्जीव बरालले पटक–पटक आशनग्रहणका लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
‘पदीय आचरण पालना नगर्नुका साथै पदीय गरिमासमेत कायम गर्न नसकेको, सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नुनपर्ने हो ? तपाईँको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले तपाईँलाई किन कारबाही गर्नुनपर्ने हो ? तपाईँले के–कसको प्रभाव वा पूर्वाग्राही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यकम वहिष्कार गर्नुभएको हो ?’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।
सचिव आचार्यमाथि निजामती सेवा ऐन ०४९, को दफा ४२(३) विपरीतको कार्य गरिएको र आफूमातहतको विभागले गरेको कार्यक्रममा विभागीय मन्त्री प्रमुख अतिथिका रूपमा उपस्थित रहेकामा पदीय आचरणविपरीतको कार्य गरेको राज्यमन्त्रीको आरोप छ । त्यस्तै, उनलाई निजामती सेवा ०५९, को दफा ५९ बमोजिमको सजाय गर्नुनपर्ने कारणसमेत खुलाउन निर्देशन दिइएको छ ।