१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ६ शनिबार १५:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वसन्तपुर शिवपार्वती डबलीमा परम्परागत चर्या नृत्य देखाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १५:२७:oo

वसन्तपुर शिवपार्वती डबलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरूको प्रदर्शनी गरिएको छ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो। यस्ता नृत्यहरू बज्राचार्यहरूले गुप्त रूपमा गर्ने गरेका छन्। महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो।

देवीदेवताको भावमा देव कलाकारहरूले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए। उनीहरूको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो। षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरूको भाव नृत्यको हो। देवीहरू मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो।

नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौंको असनमा छ। आठवटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रूपमा प्रख्यात छ।
उनले आफूसँग भएको शक्तिलाई प्राणीहरूको अहित गर्नेहरूको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वास गरिन्छ। अन्नले भरिएको कलश अन्नपूर्णको विम्ब हो।

उपत्यकामा भएको पानीको ठुलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्तीयोग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ। पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, बायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रूपमा हेर्ने गरिन्छ।

आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरूलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रूपमा पूजा गरिन्छ। हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन्। देवीले श्रद्धालुहरूलाई बुद्ध ज्ञानबाट पारंगत गराउँछिन् भन्ने विश्वास पाइन्छ।

दुःख पाएकाहरूलाई करुणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो। प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वाश गरिन्छ।

रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका रूपमा अर्चना गरिन्छ। दशवटा पाखुरामा उहाँको शक्ति हुन्छ। रक्त गणेशलाई सुखदाताका रूपमा पनि पूजा गरिन्छ। अवलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो। दायाँ हातमा अभय वरदान, बायाँ हातमा निर्मल, निलो रंगको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वास गरिन्छ।

बुद्ध शासनको रक्षाका लागि प्रकट हुनुभएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकावासीको धार्मिक आस्थालाई विम्बका रूपमा प्रकट गरेको थियो। दायाँ हातमा बज्र र बायाँ हातमा घण्ट लिएका बोधिसत्वको रंग निलो हो।

वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन्। प्रत्येक वुद्धका अन्तरनिहीत विशेषता छन्। हरेकका आफ्नै रंग, मुद्रा, दिशा र अन्तरदृष्टि छन्। बौद्ध धर्माबलम्बीहरूका लागि पञ्चवुद्धको स्थान उच्च छ। विघ्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ।