
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइपिलअन्तर्गत बुधबारको २३औँ खेलमा गुजरातले राजस्थान रोयल्समाथि ५८ रनको सानदार जित निकालेको हो । गुजरातले पाँच खेलमा चार जित र एक हार सामना गरेको छ । शीर्ष स्थानमा पुगेको गुजरातले सर्वाधिक ८ अंक बनाएको छ । हारका साथ राजस्थान रोयल्स सातौँ स्थानमा सीमित भएको छ । राजस्थानले पाँच खेलमा दुई जित र तीन हार सामना गरी ४ अंक बनाएको छ ।
अहमेदाबादमा पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र जोड्यो । राजस्थानको ब्याटिङमा स्रिमरन हेटमेयरले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । दोस्रो ओपनर तथा कप्तान सन्जु सामसङले २८ बलमा ४१ रन बनाए ।
उनले चार चौका र दुई छक्का प्रहार गरे । राजस्थानका पुछारका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा गुजरातका लागि प्रसिद्ध कृष्णाले २४ रन खर्चेर सर्वाधिक तीन विकेट हात पारे । रसिद खानले ३७ रनमा दुई विकेट लिए । साई किशोरले २.२ ओभरमा २० रन दिँदै दुई विकेट हात पारे ।
सुदर्शनको अर्धशतकीय योगदान
यसअघि ब्याटिङ गरेको गुजरातका ओपनर साई सुदर्शनले अर्धशतकीय इनिङ्सको योगदान दिएका थिए । उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ८२ रन बटुले । इनिङ्सको १८.२ ओभरमा उनी आउट हुँदा गुजरात १८७–५ को बलियो अवस्थामा पुगेको थियो । तेस्रो क्रमका जोस बटलरले साईसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । बटलरले २५ बलमा पाँच चौकाको सहयोगमा ३६ रन बनाए । साईले साहरूख खानसँग तेस्रो विकेटका लागि ६२ रन जोड्दै टोलीलाई १५.४ ओभरमा १५६–३ को स्थितिमा पु¥याए । खानले २० बलमा दुई छक्का र चार चौका प्रहार गरी ३६ रनको योगदान दिए । राहुलले १२ बलमा समान दुई चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । रसिद खानले चार बलमा १२ रन बनाए । बलिङमा राजस्थानका लागि तुसारले ५३ रन खर्चेर दुई विकेट हात पारे । महिस थिक्षणाले ५४ रन खर्चेर दुई विकेट हात पारेका थिए ।