
‘सुनको बढ्दो मूल्यले के तपाईंको विवाहमा गहना खरिदलाई रोकिरहेको छ ?’ भारतको सबैभन्दा ठुलो गहना खुद्रा विक्रेता तनिष्कको मुम्बई शाखाबाहिर एउटा बोर्डमा प्रश्न छ । नयाँ गहनाका लागि पुरानो गहना साट्न ‘विनिमयको उत्सव’को विज्ञापन गर्दै यसले घोषणा गरेको छ, ‘आफ्नो सपनाका लागि केही नतिर्नुहोस् ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा विश्वका धेरैजसो भागमा व्यापक कर घोषणा गर्दा सुन पहिले नै उच्च मूल्यमा कारोबार भएको थियो । छोटो समयका लागि धातुको मूल्य प्रतिऔँस तीन हजार १६६ डलरको सर्वकालीन उच्च बिन्दुमा पुग्यो, जुन उनले शपथ लिँदाको दिनदेखि १७.४ प्रतिशतले बढेको थियो । अप्रिल ११ मा यो तीन हजार २०० डलरभन्दा माथि पुग्यो ।
यसले उपभोक्ताहरूको सुन किन्ने उत्साहलाई खासै कम गर्न सकेको छैन । सन् २०२४ सम्म सुनको दर ४० उच्च बिन्दुमा पुगे पनि यसको माग भारतमा स्थिर रह्यो । एउटा कारण भनेको निरपेक्ष मूल्य स्तरले खासै फरक पार्दैन, कोटक सेक्युरिटिजका अनिन्द्य बनर्जी भन्छन्, ‘महत्वपूर्ण कुरा भनेको स्थिरता हो । यदि मूल्य त्यही स्तरमा रह्यो भने माग पहिलेकै अवस्थमा हुन्छ ।’ वल्र्ड गोल्ड काउन्सिल (व्यापार संघ)का अनुसार भारतीयले अझै पनि विवाह र अन्य अवसरमा जस्तै ‘आवश्यकताअनुसार’ सुनका गहना किनिरहेका छन् ।
एसियाली देशका मानिस पहेँलो धातुका अत्यधिक भोका वा लोभी उपभोक्ता हुन् । गत वर्ष भारतीय विश्वका सबैभन्दा ठुला सुनका गहना खरिदकर्ता थिए, उनीहरूको संयुक्त खरिद (५६० टन)ले चीन (५१० टन) लाई उछिन्यो । भारतीयले २४० टन सुनका बार र सिक्का पनि किनेका थिए भने चिनियाँले ३४५ टन जोहो गरेका थिए । थाइल्यान्डमा अनलाइन सुन बेच्ने एपहरूको बढ्दो लोकप्रियताका कारण २०२४ मा सुनको माग १७ प्रतिशतले बढेर ४० टन पुगेको थियो । इन्डोनेसिया र भियतनामजस्ता अन्य प्रमुख बजार पनि जोड्दा गत वर्ष सुनको विश्वव्यापी मागको ६४.५ प्रतिशत एसियाले ओगटेको थियो (केन्द्रीय बैंकको खरिद समावेश नगरी) । अमेरिकाले केवल ६.५ प्रतिशत मात्र किनेको थियो ।
एसियाको सुनप्रतिको प्रेम आंशिक रूपमा जीवनका महत्वपूर्ण घटना, विशेषगरी विवाहमा यसको आवश्यकतासँग सम्बन्धित छ । सुनको ठुलो खुद्रा विक्रेता कल्याण ज्वेलर्सको अनुमानमा भारत वार्षिक लगभग एक करोड विवाहको बजार हो र यो बजारले मात्र तीनदेखि चार सय टन सुन खपत गर्छ । धेरै हिन्दुहरूले शुभ अवसरमा पनि सुन किन्छन् । जस्तै– शरद ऋतुमा दिवालीको मौसम वा अक्षय तृतीयामा ।
सुन चिनियाँ सांस्कृतिक परम्परामा पनि गहिरो रूपमा जोडिएको छ । अघिल्ला पुस्तामा यो धन भण्डारण गर्ने र सन्तानलाई हस्तान्तरण गर्ने केही तरिकामध्ये एक थियो । र धेरै डायस्पोरा चिनियाँ समूहहरूले दक्षिण–पूर्वी एसियामा टिओच्यु समुदायको विवाह परम्परा अपनाएका छन् , जहाँ दुलाहाको परिवारले दुलहीका लागि सुनका गहना किन्छन् । उक्त सुन पतिले पत्नीलाई प्रदान गर्छन् ।
फलस्वरूप एसियालीको सुनप्रतिको लगाव प्रायः संस्कृतिसँग जोडिएको छ । तर, भारत र चीन सांस्कृतिक रूपमा धेरै फरक छन् र दक्षिण–पूर्वी एसियाली देश दुवैसँग जोडिएकोमा दिक्क छन् । एउटा महत्वपूर्ण कारण विविधीकरण हो । विश्वभरका लगानीकर्ता सुनलाई मूल्यको भण्डारको रूपमा र विशेषगरी अशान्त समयमा मुद्रास्फीतिविरुद्धको बाधकको रूपमा मूल्यांकन गर्छन् । वास्तवमा सन् २०२० मा महामारीको उच्च बिन्दुमा भन्दा पनि ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकीले सुनको थुप्रो जम्मा गरेका छन् । सिंगापुरका एक सुन दलाल आफू धातु जम्मा गरिरहेका चिन्तित धनी मानिसका लागि थोक ढुवानीको व्यवस्था गरिरहेको बताउँछन् । तर, एसियाको धेरैजसो भागमा सुनले अतिरिक्त भूमिका खेल्छ । एसियाली देशहरू, विशेषगरी भारत र चीन लगानी स्वतन्त्रताको सूचकांकमा कमजोर छन् । पुँजी नियन्त्रण सामान्य छ र विदेशी बजारमा लगानी गर्नु कठिनदेखि असम्भवसम्म हुन्छ । ‘हाम्रो नियन्त्रित पुँजी (लगानीका लागि सजिलै उपलब्ध नहुने पुँजी)का लागि गैररुपैयाँ (नेपाली र भारतीयबाहेकको मुद्रा) सजिलै किन्ने यो एक मात्र तरिका हो,’ उद्यम–पुँजी फर्म ब्लुम भेन्चर्सका लगानीकर्ता जोसेफ सेबास्टियन भन्छन् । पछिल्ला वर्षमा लगानीमा उछाल आए पनि भारतीय घरेलु सम्पत्तिको ६ प्रतिशतभन्दा कम सेयर मूल्यमा छुट्याइएको छ, जबकि सुनमा १५ प्रतिशत छ ।
चीनमा घरेलु लगानीमा पनि केही कठिनाइ हुन सक्छ । धेरै नाफा कमाउने उद्योग सरकारको नियन्त्रणमा छन् । चिनियाँ स्टक बजार महामारीको उच्चतम बिन्दुभन्दा तल कारोबार भएका छन्, ट्रम्पको भन्सार शुल्कको धम्कीले बजारमा अशान्ति निम्त्याएको छ । सम्पत्तिले सम्पत्ति बनाउने बाटोको रूपमा आफ्नो चमक गुमाएको छ । नयाँ घरहरूको मूल्य २०२१ मा पाँच प्रतिशतले घटेको छ । मार्चको अन्त्यसम्मको पाँच वर्षमा बेन्चमार्क सुनको मूल्य दोब्बर भएर प्रतिग्राम ७३७ युआन पुगेको छ ।
चीनको अर्थतन्त्र सुस्त भएकाले मूल भूमि चीनमा बस्नेका लागि सुन अझ आकर्षक बनेको छ । थोरै ब्याजका लागि बैंकमा आफ्नो नगद राख्नुको सट्टा युवा चिनियाँहरू थोरै मात्रामा सुन किन्न रुचाउँछन् । सरकारी नीतिले पनि चासो जगाउँछ । ‘जब चीनको केन्द्रीय बैंकले सुन किन्छ, मानिसहरू सोच्छन् ओहो, मैले पनि सुन किन्नुपर्छ,’ सियानका सुन व्यापारी एलेक्स हे भन्छन् । आर्थिक स्थिरता सुनिश्चित गर्न सुनको भूमिका पनि कम महत्वपूर्ण छैन । चीन, भारत, पाकिस्तान र दक्षिण–पूर्वी एसियाका अधिकांश देशमा काम गर्ने उमेरका आधाभन्दा कम मानिस अनिवार्य पेन्सनमा दर्ता भएका छन् । सुनले वृद्धावस्थाका लागि सुरक्षा जालको रूपमा काम गर्छ । यो विशेषगरी महिलाका लागि महत्वपूर्ण छ, जसको धेरै एसियाली देशमा पुरुषको तुलनामा कमाइ गर्ने क्षमतामा कमी हुन्छ र दक्षिण एसियाजस्ता केही ठाउँमा प्रायः महिलाको नाममा कुनै सम्पत्ति हुँदैन ।
जलवायु र आर्थिक अस्थिरताको जोखिममा रहेका किसान र व्यापारीका लागि नगद प्रवाहलाई सहज बनाउन पनि सुन महत्वपूर्ण छ । चिनियाँ युवाजस्तै धेरै ग्रामीण भारतीयले कठिन समयमा तरलतामा पहुँच सुनिश्चित गर्न सुन किन्नका लागि थोरै रकम छुट्याउँछन् । भारतको कमजोर भूमि अभिलेख प्रणाली र अविकसित धितो बजार ऋणका बाधक हुन् । यसले एक फस्टाउँदो र बढ्दो औपचारिक सुन–ऋण बजार सिर्जना गरेको छ । भारतको सबैभन्दा ठुलो सुन–ऋण फर्म मुथुटले १५ मिनेटभन्दा थोरै समयमा ऋण जारी गर्छ र मध्यम आय भएका ऋणीको संख्या बढिरहेको छ । गत वर्षको अप्रिल र डिसेम्बरको बिचमा गोल्ड लोन (सुन ऋण भनेको एक सुरक्षित ऋण हो, जहाँ मानिसले आफ्नो सुनका गहना धितोमा राखेर ऋण लिन्छन् ) लिनेको संख्या ६८ प्रतिशतले बढेको छ, जुन २०२३ को अन्तिम नौ महिनामा १२.७ प्रतिशत थियो ।
एसियामा सुनको ठुलो माग व्यक्तिगतस्तरमा तर्कसंगत भए पनि राष्ट्रियस्तरमा यसले लागत बढाउँछ । सुनमा लगानी गरिएको ठुलो रकम बढी उत्पादक लगानीमा छुट्याउन सकिने अर्थशास्त्रीहरू बताउँछन् । व्यापार सन्तुलनमा यसले पार्ने प्रभावबारे उनीहरूले चिन्ता व्यक्त गरेका छन् । गत वर्ष थाइल्यान्डको केन्द्रीय बैंकले चालू खाता अधिशेषलाई घाटामा रूपान्तरण गर्नुको दोष उच्च सुन आयातलाई लगाएको थियो । भारतको समग्र आयातको आठ प्रतिशत सुनको हिस्सा हो । केही महिनामा यो देशको सबैभन्दा ठुलो एकल आयात वर्ग हो । समष्टिगत दृष्टिकोणबाट सुन खराब छ, सेबास्टियन भन्छन्, ‘तर सूक्ष्म व्यक्तिगत दृष्टिकोणबाट मेरो सम्पत्तिको २० प्रतिशत अझै पनि सुनमा छ ।’
सुनको खपत घटाउन चाहने सरकारहरूले क्रेडिट बजारलाई गहिरो बनाउने, भूमि अभिलेख ठिक गर्ने, न्यायिक प्रणालीलाई खुला गर्ने, पुँजीको आवागमनलाई स्वतन्त्र गर्नेजस्ता कठोर सुधारका प्रयास गर्नु आवश्यक छ । प्रायः सांस्कृतिक कारणले गर्दा अर्थशास्त्र र राजनीतिले एसियालीलाई सुनको किरा नै रहन सुनिश्चित गर्छ ।
– द इकोनोमिस्टबाट