१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ बैशाख ६ शनिबार ११:१९:oo
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

१२ वर्षे हलचोक आकाश भैरव जात्रा : सांस्कृतिक महत्व उच्च, प्रचार सुस्त

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार ११:१९:oo

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू, त्यस क्षेत्रवरपर चल्ने जात्रापर्वबारे त जोकोही जानकार नै छन् । तर, स्वयम्भू चोकदेखि चार किलोमिटर पश्चिमतर्फ रहेको हलचोक आकाश भैरव मन्दिर क्षेत्रमा चल्ने जात्रापर्वबारे धेरैजना अनविज्ञ हुन सक्छन् । त्यही हल्चोक क्षेत्र अचेल उल्लासमय बनेको छ । १२ वर्षपछि जुरेको आकाश भैरव जात्राका कारण आकाश भैरव मन्दिर रंगरोगन गरेर चिटिक्क पारिएको छ । बिहान–साँझ मात्र पूजा हुने मन्दिरमा दिउँसोसमेत मानिसको आवतजावत बढेको छ । रंगीबिरंगी लुगा र मुकुट लगाएका मानिसहरूको आवतजावत हरेक देखिन हुने गरेको छ । 

मन्दिरनजिकै रहेको आकाश भैरव द्येःछे (देवी देवता राखिने घर)मा पनि बिहानैदेखि मानिसको जमघट बढेको छ । हल्चोक पर्वमय भएको छ । १ वैशाखबाट सुरु भएको आकाश भैरवको १२ वर्षे जात्रा (सवः भग्गु)ले हल्चोक क्षेत्र उल्लासमय बनेको छ । नेवाः समुदायको पुतुवार जातिले सञ्चालन गर्ने जात्राले यो क्षेत्रका स्थानीयलाई त भ्याई–नभ्याई छ नै, जात्रा अवलोकन गर्ने मानिसको सहभागिता पनि उत्तिकै छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले १ वैशाखमा पूजा र अवलोकन गरेर जात्रा सुरु भएको थियो । सोही दिन हल्चोकमा १० देवीदेवताको नाच देखाइएको थियो । जात्राको प्रचारप्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठका अनुसार नाच सकिएपछि हल्चोकको पुतुवार बस्ती परिक्रमा गरिएको थियो । जात्राको पहिलो दिन र अन्तिम दिन हल्चोक क्षेत्रमा देवीदेवताको नाच देखाइन्छ । ‘दोस्रो दिन गुठियारहरूले मुकुट, गरगहना र पोसाक तामाको सन्दुकमा राखेर हल्चोकबाट काठमाडौं महानगरपालिका–१८ वडास्थित ताम्सिपाखामा ल्याएर जात्रा सञ्चालन गरिएको छ । ताम्सिपाखामा जात्रा सकिएपछि फेरि हल्चोकमै लगिन्छ । यस्तै, गतिविधि महिना दिनसम्म चल्छ,’ श्रेष्ठले भने । 

२ वैशाखमै ताम्सिपाखाबाट हनुमानढोकास्थित कालभैरव मन्दिरअगाडि इन्द्रजात्रामा यःसिं (लिंगों)उठाउने स्थानमा गुठीबाट पञ्चबलिसहितको पूजाआजा गरिएको छ । ३ वैशाखमा केलटोलस्थित मच्छिन्द्र क्लब, प्रदिप्त पुस्तकालय र केलटोल नाट्येश्वर डबली व्यवस्थापन समितिको संयुक्त आयोजनामा नाच देखाएको हलचोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतुवारले बताए । ‘पुतुवार समुदायले सञ्चालन गर्ने यो जात्रा १ वैशाखमा राष्ट्र प्रमुखले पूजा र अवलोकन गरेर सुरु भयो । त्यसपछि पनि विभिन्न कार्यक्रम भइरहेका छन्,’ पुतुवारले भने । हरेक वर्ष इन्द्रजात्राका अवसरमा भैरवको जात्रा तथा नृत्य प्रदर्शन हुने गर्छ भने प्रत्येक १२ वर्षमा एकपटक हल्चोक आकाश भैरवको १० देवदेवीसहितको जात्रा सञ्चालन गरिन्छ । १२ वर्षे जात्रा वैशाख महिनाभर सञ्चालन हुन्छ । 

अब यी ठाउँमा देखाइनेछ नाच 

विभिन्न ठाउँमा नाच देखाउने क्रममा ६ वैशाखमा मरु डबलीमा मरुत्वाः पुचःको आयोजनामा नाच प्रदर्शन हुनेछ । ११ वैशाखमा असन डबलीमा असन सेवा समितिको आयोजनामा, १२ वैशाखमा दमाईं टोलमा काठमाडौं महानगरपालिका–१९ वडाको आयोजनामा, १३ वैशाखमा वतु, चिकंअतमा राजु डंगोलको संयोजकत्वमा नाच सञ्चालन हुनेछ । यस्तै, १८ वैशाखमा न्यतपाःच्वमा महानगरको १८ वडाको आयोजनामा, १९ वैशाखमा पहिको त्वाः, खुसिबुँमा (पहिको युवा क्लबको आयोजनामा), २० वैशाखमा ब्रह््मटोलमा, २१ वैशाखमा खुसिबुँमा, २५ वैशाखमा बहती (सोह्रखुट्टे)मा कुमारी क्लबको आयोजनामा, २७ वैशाखमा न्योखामा रविकृष्ण श्रेष्ठको संयोजनमा र ३१ वैशाखमा ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा नाच प्रदर्शन गरिनेछ । एक दिनमा एक ठाउँमा मात्र नाच प्रदर्शन तथा पूजा ग्रहण गर्ने हल्चोक आकाश भैरव आफ्नो टोल–छिमेकमा आमन्त्रण गर्न चाहनेले सम्पर्क गरी सहयोग गर्नसमेत आह्वान गरिएको छ । आमन्त्रण गर्न चाहनेले पूजा सामग्रीका साथमा चढाउन चाहने सामग्री देवगण र बाजागाजासहितका लागि २५ भाग सामग्री तयार गर्नुपर्छ । पञ्चबलि पूजा आयोजकको स्वेच्छा हो । 

एक हजार वर्षअघि सुरु भएको जात्रा 
हलचोक आकाश भैरवलाई काठमाडौंका नेवाः समुदायले सवःद्य र सवःभकु (तीन देवता आकाश, चण्डी र कुमारी) पनि भन्ने गरेका छन् । एक हजार वर्षअघिदेखि जात्रा सुरु भएको मानिन्छ । अर्थात्, नेपाल संवत् १०७ मा राजा गुणकामदेवले जात्रा सञ्चालन सुरु गरेका थिए । देवमाला वंशावलीअनुसार राजा गुणकामदेवको सपनामा आएर महालक्ष्मी देवीले दर्शन दिएको जनविश्वास छ । महालक्ष्मी देवीको आदेशबमोजिम राज्यलाई शत्रुको भयबाट मुक्त गर्न हल्चोकमा आकाश भैरवसहित विभिन्न देवता तान्त्रिक विधिबाट उत्पन्न गरेका थिए । गुणकामदेवले येँ (काठमाडौं) रक्षा गर्नका निम्ति चारैतर्फ अष्टमातृका स्थापनासँगै भैरव पनि स्थापना गरेको किंवदन्ती रहेको श्रेष्ठले बताए । यस जात्राका लागि तेजबहादुर चित्रकारले ०२८ सालदेखि मुकुट बनाउँदै आएका छन् । उनले ०३४, ०४६, ०५८, ०७० र ०८१ गरी हालसम्म पाँचपटक मुकुट बनाइसकेका छन् ।

जात्राबारे खासै अध्ययन अनुसन्धान नभए पनि आकाश भैरव गुठी नाइके सागर पुतुवारका अनुसार जनताको रक्षा र राजाको मंगल होस् भनेर सुरु भएको हो । ‘यो जात्रा निकै महत्वपूर्ण छ । पूजाआजा गरेर मनाइने यो नाच हाम्रो पहिचान हो । एक हजार वर्षदेखि चलिआएको जात्रा हाम्रो गौरव हो । खासै प्रचारप्रसार हुन नसके पनि काठमाडौंको कोर एरियामा नाच देखाउन जानैपर्छ । महत्वपूर्ण स्थानमा नाच प्रदर्शन गर्नैपर्छ,’ उनले भने, ‘आकाश भैरव साक्षात् भगवान् हुन् । मान्छेलाई हातखुट्टा दुखेमा, टाउको दुखेमा यहाँ पूजापाठ गरे ठिक हुन्छ । यहाँ भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास पनि छ ।’

दुई देवी चोरी भएपछि १० देवीदेवताको मात्रै नाच 
१२ वर्षे आकाश भैरव जात्राको सुरुवाती दिनमा १२ देवीदेवताको नाच देखाइन्थ्यो । करिब दुई सय वर्षअगाडि दुई देवी चोरिएपछि १० देवगणको मात्र नाच देखाउने गरिएको छ । आकाश भैरव गुठी नाइके सागर पुतुवारका अनुसार सुरुमा द्येःछे एक तल्लाको मात्र थियो । एक तल्ले उक्त घरको छाना छ्वाली र परालको थियो । पूजाआजाको क्रममा बिहान र बेलुका बत्ती बाल्दा बत्तीबाट आगलागी भयो । द्येःछेमा राखिएको मुकुट जल्यो । देवीदेवता तितरवितर भए । त्यसपछि द्येःछे पुनर्निर्माणका लागि हल्चोक क्षेत्रमा डकर्मी पाइएन । त्यसैले कीर्तिपुरबाट डकर्मी बोलाएर पुनर्निर्माण भयो । पुनर्निर्माणकै क्रममा द्येःछेबाट शिघ्रिनी, ब्यागनी दुई देवी हराए । ती दुई देवी सुनजस्तै चम्किला र राम्रा थिए । दुई देवी हराएपछि १० देवीको मात्र नाच देखाइन थालियो । 

‘त्यतिवेला यो ठाउँ दुर्गम थियो । हराएको देवताको भजन, बाजाको बोल, नाचबारे कसैलाई हेक्का भएन । अहिलेजस्तो प्रविधिको जमाना थिएन । मुकुट कस्तो थियो भन्ने समेत जानकारी भएन,’ उनले भने, ‘यहाँ पूजा गर्दा कीर्तिपुरमा देवी राखिएको घरै हल्लिन्छ भन्ने विश्वास छ । भगवान् भेटिएमा लसकुस (स्वागत)गरेरै ल्याउने हो । हामी अझै खोजबिनमै छौँ ।’ 

यो नाच प्रदर्शन अगाडि पुतुवार समुदायका गुथियारहरू १ वैशाखमा नागार्जुनको छहारे र आकाशदेवी स्थानमा गई पूजा गर्छन् । श्रेष्ठका अनुुसार पूजाका क्रममा देवशक्ति हावाको माध्यमबाट झ्याली, बाजा र चिराखमध्ये एउटामा प्रवेश गर्दछ भने ती सामग्रीमा विशेष ध्यान दिई बसेको हुन्छ । तीमध्ये कुनै एकमा शक्ति प्रवेश भएको आभास भएपछि त्यसलाई कपडाले छोपछाप पारी देवघरमा लगिन्छ । यसपछि देवघरमा विशेष पूजा गरी सोही दिन बसा लायेगु (देवताहरूलाई भुइँमा टेकाउन नहुने भएकाले सेतो कपडा बिछ्याउने कार्य) गरेर १० देवदेवीलाई हल्चोक परिक्रमा गराउने प्रचलन छ । 

१२ वर्षे जात्राका क्रममा हल्चोक आकाश भैरवको देवगणका रूपमा १० देवदेवीको नाच प्रदर्शन गरिन्छ । जसमा चण्डी, कुमारी, हल्चोक आकाश भैरव, गंगा, महादेव, पार्वती, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकाली देवी रहेका छन् । 

जात्रा सुरु हुनुभन्दा अगाडि नै रौनक सुरु हुने १२ वर्षे जात्राका लागि फागुनदेखि नै देउता बन्न नृत्य प्रशिक्षण दिने गरिन्छ । देवगण बन्नका लागि पुतुवार समुदायकै अविवाहित पुरुष हुनुपर्छ । १ चैतमा मुकुट बनाउन चित्रकारकहाँ लगिन्छ । चित्रकारले विधि पूरा गरेर पूजा गरी मुकुट बनाउन सुरु गरेको एक महिनापछि हस्तान्तरण हुन्छ । ३१ चैतमा गुथियारलाई मुकुट हस्तान्तरण गर्ने गरिन्छ । पुतुवार समुदायका ९० घर गुठियारले चलाउँदै आएको यो जात्राबारे युवापुस्ता पनि सजग हुन थालेको सागर पुतुवारले बताए । ‘यो जात्रामा धेरै युवाको सहभागिता हुने गरेको छ । आफ्नो संस्कृति र सम्पदा बचाउनुपर्छ भन्ने उनीहरूले बुझ्न थालेका छन् । यो ठाउँमा हुने आकाश भैरवको जात्राबारे विस्तारै धेरै मानिसमा जानकारी हुन थालेको छ,’ उनले भने ।

जात्रा सञ्चालन गर्न धौधौै
गुठीका अनुसार जात्रा सम्पन्न गर्न ६० देखि ६५ लाख खर्च लाग्छ । जात्राका लागि काठमाडौं महानगरपालिकाबाट २५ लाख ४० हजार, नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार बजेट प्राप्त भएको छ । बाँकी भक्तजनबाट करिब ६ लाख गरी ४४ लाख ७० हजार संकलन भएको छ । यो रकमले महिनाभर जात्रा सञ्चालन गर्न धौधौ हुने गरेको छ । गुठीका नाइके सागर पुतुवारले इन्द्रजात्राको उदाहरण दिँदै हल्चोक भैरवको जात्रालाई सरकारले प्राथमिकतामा नराखेको आरोप लगाए । ‘सम्पदा बचाउनुपर्छ । संस्कृति बचाउनुपर्छ भनेर सबैले भाषण गर्नुहुन्छ, तर काम हुँदैन । यस्तै, सम्पदा र संस्कृतिका कारण नेपाल चिनिएको छ । मठमन्दिर, विभिन्न समुदायको संस्कृतिले नेपाल चिनिएको हो भन्ने ख्याल राखिँदैन,’ पुतुवारले भने, ‘केन्द्र सरकारले बजेट दिँदैन । इन्द्रजात्राजत्तिकै महत्व भएको जात्राको अन्तर्राष्ट्रियकरण गर्न ध्यान दिँदैन ।’ आकाश भैरवको नाममा आठ रोपनी जग्गा भए पनि यो जग्गा गुठीले भोगचलन गर्न पाएको छैन । करिब २० वर्षदेखि मोहीले जग्गा कब्जा गरेर राखेको र उक्त जग्गाको मुद्दा अझै नटुंगिएको पुतुवारले बताए । मन्दिरमा पूजाआजा र सरसफाइ गर्नसमेत पारिश्रमिकको व्यवस्था गरिएको छैन । गत वर्षदेखि भने प्रदेश सरकारले दिएको दुई लाखबाट रुपैयाँबाट मासिक पाँच हजार रुपैयाँको भत्तास्वरूप सहयोग गरिरहेको गुठीले बताएको छ ।