१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८१ चैत २८ बिहीबार o७:४६:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

९ महिनायताकै न्यून विन्दुमा महँगीदर

फागुनमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o७:४६:oo

मुद्रास्फीति (महँगीदर) विगत नौ महिनायताकै न्यून विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार फागुनमा मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । यसअघि आव ०८०/८१ को असारमा मुद्रास्फीति ३.५७ प्रतिशत थियो । गत आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ । 

फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।फागुनमा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको यस्तो सूचकांक ३.६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत छ । यो महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत छ ।

चालू खाता बढ्दा शोधनान्तर बचत घट्यो
अर्थतन्त्रका बाह्य क्षेत्रका सूचक धनात्मक देखिएका छन् । आठ महिनामा चालू खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालू खाता एक खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो । त्यस्तै, शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा थियो । चालू आवको आठ महिनामा आठ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोड थियो । 

सेवा आय घाटा बढ्यो
आठ महिनामा खुद सेवा आय भने घाटामा छ । समीक्षा अवधिमा खुद सेवा आय ७५ अर्ब १३ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, यस अवधिमा भ्रमण आम्दानी ५६ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ६९ करोड थियो ।

तर, भ्रमण आम्दानीको तुलनामा भ्रमण खर्च बढी भएकाले खुद सेवा आय घाटामा गएको हो । भ्रमण खर्च २०.६ प्रतिशतले वृद्धि भई एक खर्ब ४८ अर्ब ११ करोड पुगेको छ । यसमध्ये उच्च शिक्षा हासिल गर्न बिदेसिने नेपालीले ८८ अर्ब ९८ करोड खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण खर्च एक खर्ब २२ अर्ब ८१ करोड रहेकोमा शिक्षातर्फको खर्च ८० अर्ब १४ करोड थियो ।

१४.३ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति 
चालू आर्थिक वर्ष ०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब नौ अर्ब २५ करोड पुगेको छ । कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा एक खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ ।

निजी क्षेत्रमा तीन खर्बले बढ्यो कर्जा प्रवाह
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब चार अर्ब ८२ करोड (६ प्रतिशत)ले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ९९ अर्ब ५० करोड अर्थात् ४.२ प्रतिशतले बढेको थियो । 

१० खर्ब नाघ्यो रेमिट्यान्स
चालू आवको आठ महिनामा रेमिट्यान्स आप्रवाह १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिभन्दा १८.३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा रेमिट्यान्स नौ खर्ब ६१ अर्ब २२ करोड मात्रै थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रुपैयाँ छ ।

 प्रमुख आर्थिक सूचकहरू  

  •    मुद्रास्फीति ३.७५ प्रतिशत 
  •  आयात ११.२ प्रतिशत र निर्यात ५७.२ प्रतिशतले बृद्धि  
  •   रेमिट्यान्स नेपाली रुपैयाँमा ९.४ प्रतिशत र अमेरिकी डलरमा ६.९ प्रतिशतले बृद्धि 
  •    शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा  
  •    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड  
  •    नेपाल सरकारको खर्च आठ खर्ब ३९ अर्ब ३६ करोड र राजस्व परिचालन सात खर्ब २० अर्ब ३५ करोड   
  •   विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बृद्धि । वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय ९.९ प्रतिशत बढ्यो   
  •    बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बृद्धि  
  •   वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत