
सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका कार्यान्वयनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अवरोध गरेका छन् । उद्योगमन्त्री भण्डारीले पत्र नै पठाएर स्वास्थ्य मन्त्रालयलाई उक्त निर्देशिका कार्यान्वयन नगर्न भनेका हुन् । तर, स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयको पत्र कार्यान्वयन नहुने प्रतिक्रिया दिएको छ ।
उद्योगमन्त्री भण्डारीले ११ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै १३ चैतमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए । मन्त्री भण्डारीले पत्रमार्फत ०८१ भदौदेखि लागू हुने नयाँ निर्देशिका कार्यान्वयन नगर्न भनेका छन् । पत्रमा निर्देशिका कार्यान्वयन नगर्न चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरूको माग आएकोसमेत उल्लेख छ ।
१३ माघमा स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए । यसअघिको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा थियो । त्यसलाई संंशोधित गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका थिए । निर्देशिका भदौ ०८२ देखि कार्यान्वयनमा आउने भनिएको थियो । नयाँ निर्देशिकाका कारण सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा असर पर्ने बताउँदै उद्योगीले उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसैका आधारमा उद्योगमन्त्रीले निर्देशिका कार्यान्वयन नगर्नेबारे निर्णय लिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्योग मन्त्रालयबाट आएको पत्र कार्यान्वयन नहुने बताए । ‘पत्र आएको छ, तर त्यो कार्यान्वयन हुँदैन । मन्त्रालय निर्णयबाट पछि हट्दैन किनभने सुर्तीजन्य पदार्थले निम्त्याएका रोगको अवस्था भयावह छ,’ उनले भने, ‘धूम्रपान सेवन कम होस् र नसर्ने रोगको पनि नियन्त्रण गरोस् भन्ने सोचले निर्देशिका ल्याइएको हो । उद्योग मन्त्रालयले अहिलेलाई सोच्यो । हामीले दीर्घकालीन रूपमा सोचेका छौँ । त्यसैले निर्देशिका कार्यान्वयन हुन्छ ।’