Skip This
चारदेशीय टी–२० आई सिरिज आजदेखि : पाँच महिनापछि अन्तर्राष्ट्रिय खेलमा फर्कँदै नेपाल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार o९:३o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चारदेशीय टी–२० आई सिरिज आजदेखि : पाँच महिनापछि अन्तर्राष्ट्रिय खेलमा फर्कँदै नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार o९:३o:oo

गत वर्षको अक्टोबर र नोभेम्बरमा नेपालले अमेरिकामा अन्तिमपटक एकदिवसीय र टी–२० आई सिरिज खेलेको थियो

नेपाली पुरुष क्रिकेट टोलीले बुधबार कुवेतविरुद्ध चारदेशीय टी–२० आई सिरिजमा प्रतिस्पर्धा गर्दै छ । नेपाल गत वर्षको अक्टोबरपछि अन्तर्राष्ट्रिय खेलमा फर्कन लागेको हो । यो पाँच महिनामा नेपाली क्रिकेटर घरेलु प्रतियोगितामै व्यस्त भए । यसबिच खेलाडीले दुईवटा महत्वपूर्ण प्रतियोगितामा खेले । गत पुसमा भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग तथा त्यसपछि प्रधानमन्त्री कप एकदिवसीयमा राष्ट्रियस्तरका क्रिकेटरले प्रतिस्पर्धा गरेका थिए ।

यी दुईवटा प्रतियोगिताअघि घरेलु खेलाडीले अन्तिमपटक गत नोभेम्बरमा आइसिसी विश्वकप लिग २ प्रतिस्पर्धा गरेका थिए । अमेरिकामा भएको विश्वकप लिग खेलमा नेपालले आयोजक अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेको थियो । अमेरिकामा नेपालले चारमध्ये दुई खेलमा हार तथा एक खेलमा जित निकालेको थियो । नेपाल र स्कटल्यान्डबिच एक खेल वर्षाका कारण रद्द भएको थियो । अमेरिकाकै भ्रमणमा नेपालले लगातार सात खेलको हार ‘जिंक’ तोडेको थियो । 

नेपालले २९ अक्टोबरमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । विश्वकप लिग २ मा नेपाल चार अंकका साथ सातौँ स्थानमा छ । नेपालले अन्तिमपटक टी–२० आई खेल गत वर्षको अक्टोबरमा अमेरिकाविरुद्ध खेलेको थियो । यो पाँच महिना भित्र नेपालले नयाँ मुख्य प्रशिक्षक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले गत माघमा मोन्टी देसाईको सम्झौता नवीकरण गरेन । क्यानले डेढ साताअघि रिक्त मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुअर्ट ललाई नियुक्त गरेको थियो । हङकङमा चल्ने सिरिजमा स्टुअर्ट हुनेछैनन् । उनी अस्ट्रेलियामा आफ्नो प्राविधिक काम सकाएर नेपाली टोलीसँग १३ वैशाखमा आबद्ध हुनेछन् । उनको स्थानमा नेपाली टोलीलाई पूर्वकप्तान ज्ञानेन्द्र मल्लले हेर्नेछन् । मल्लकै प्रशिक्षणमा नेपालले हङकङमा सिरिज खेल्नेछ । 

यसैगरी, प्रधानमन्त्री केपी ओली शर्माले तीन सय दिनभित्र कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई फ्लोड लाइटसहित सबै काम सकाउन निर्देशन दिएका छन् । अहिले त्रिवि क्रिकेट मैदानमा स्तरोन्नति कार्य भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा निर्माण कार्य भइरहेकाले क्यानले घरेलु सबैजसो क्रिकेट प्रतियोगिता मोसफलमा आयोजना गरेको छ । 

नेपालको तयारी पाँच दिन
हङकङमा बुधबारदेखि सुरु हुने टी–२० सिरिजका लागि नेपालले पाँच दिनको तयारी गरेको छ । सिरिज अगाडि भएको प्रधानमन्त्री कप नै खेलाडी छनोटका आधार बनेको थियो । जसमा सिनियर तथा युवा खेलाडीहरूले मिहिनेत गरेका थिए । त्यसपछि क्यानले खेलाडी छनोट गरी पाँच दिनको प्रशिक्षण राखेको थियो । खेलाडीहरू फर्ममै रहँदा खासै फरक नपरेको प्रशिक्षक मल्लले बताए । ‘हामीले पिएम कपकै आधार बनाएर खेलाडी छनोट गरेका हौँ, खेलाडी पनि फर्ममै छन्,’ उनले भने । 

प्रधानमन्त्री कपमा युवा खेलाडीले आफ्नो प्रतिभा देखाए । यही प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पुराना खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । 

बसिर अहमद, लोकेश बम र शाहब आलमले पुनः एकपटक टोलीमा पुनरागमन गर्न सफल भए । नन्दन यादव पहिलोपटक टी–२०आई डेब्यु गर्दै छन् । युवा तथा पुराना सिनियर खेलाडीको आगमनले टोली बलियो भएको कप्तान रोहितकुमार पौडेलले बताएका छन् । ‘युवा खेलाडीसँगै केही पुराना खेलाडी टोलीमा फर्केका छन्, यसले हङकङ सिरिजमा राम्रो नतिजा ल्याउने विश्वास लिएको छु,’ हङकङ जानुअघि पौडेलले भनेका थिए, ‘यो सिरिज विश्वकपका लागि राम्रो तयारी पनि हो ।’ 

नेपालका प्रतिद्वन्द्वी
एकदिवसीय तथा टी–२० आईमा नेपालको कडा प्रतिद्वन्द्वी हङकङ हो । हङकङ र नेपालबिच अहिलेसम्म ११ वटा टी–२० आई खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच जित निकालेका छन् । एक खेल भने नतिजाविहीन भएको थियो । आइसिसीको टी–२० वरीयतामा नेपाल १७औँ र हङकङ २३औँ स्थानमा छ । यी दुवै टोलीका खेलाडी एक–आपसमा राम्रोसँग परिचित छन् । नेपाल र हङकङ पहिलोपटक टी–२० आईमा सन् २०१४ को विश्वकपमा भेट भएको थियो । जसमा नेपालले सनसनी रूपमा हङकङलाई हराएको थियो । हङकङविरुद्ध विश्वकपको पहिलो भेटमै तत्काल नेपालको कप्तानी पारस खड्काले गरेका थिए । 

कुवेतविरुद्ध नेपालले एक मात्र टी–२० आई खेलमा प्रतिस्पर्धा गरेको छ । सन् २०१९ को विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई हराएको थियो । कुवेतको आइसिसी वरीयता २४औँ रहेको छ । सिरिजमा सहभागी राष्ट्रमध्ये कतारको आइसिसी वरीयता २८औँ स्थान हो । नेपालभन्दा कतार ११ स्थानले तल छ । यद्यपि नेपालले कतारसँग दुईपटक कतारविरुद्ध टी–२० आई खेलेको छ । नेपाल र कतारले समाना दुई खेलमा हार र जित निकालेका छन् । 

सन् २०१९ को आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल कतारसँग चार विकेटले स्तब्ध भएको थियो । सन् २०२४ को ओमानमा भएको एसिसी प्रिमियर कपमा नेपालले कतारमाथि ३२ रनको जित निकालेको थियो । सो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले लगातार ६ बलमा ६ छक्का प्रहार गरी रेकर्ड बनाएका थिए । उनले २१ बलमा तीन चौका र सात छक्का प्रहार गरी सर्वाधिक ६४ रन जोडेका थिए ।