Skip This
अछामको जयगढमा लागेको आगलागी नियन्त्रणमा, सात करोडभन्दा बढीकाे क्षति 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार o९:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अछामको जयगढमा लागेको आगलागी नियन्त्रणमा, सात करोडभन्दा बढीकाे क्षति 

जयगढ बजारका २७ वटा घरटहरा जलेर पूर्णरुपमा ध्वस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार o९:o५:oo

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ लागेकाे भीषण आगलागी नियन्त्रणमा आएको छ । मध्यराति नियन्त्रणमा आएको आगलागीबाट सात करोडभन्दा बढीकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा रहेको जयगढ बजारमा मंगलबार साँझ लागेको आगो मध्यराति साढे १२ बजे नियन्त्रणमा लिँदासम्म बजारका २७ वटा घरटहरा पूर्ण रूपमा जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।

उनका अनुसार स्थानीय पुष्पराज शर्माको आइएमई पसलबाट ग्यास सिलिन्डरबाट सुरु भएको आगोले भीषण रूप लिँदा १० वटा कच्ची घर, टिनले बनेका १५ घर र दुईवटा पक्की घर गरी २७ वटा घर खरानी बनेका छन् । जसमध्ये ११ वटा पसल हुन् । यी सबै घर तथा पसल गरी सात करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर, पूरा विवरण संकलन भइनसकेकाले क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

बुधबार बिहानदेखि क्षतिको विवरण संकलन गरिने भएकाले त्यसपछि मात्रै क्षतिको पूर्ण विवरण आउनेछ । आगो नियन्त्रणका लागि गोरख बक्स गण मंगलसेन ब्यारेकबाट सेनानी अमृत खड्काको कमान्डमा ३० जना, सशस्त्र प्रहरी बल खप्तड गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक हंशराज जोशीको कमान्डमा ११ जना र प्रहरी निरीक्षक जय पार्कीको कमान्डमा नेपाल प्रहरीको मंगलसेन, साँफेबगर र जयगढबाट गरी ३० जना सुरक्षाकर्मीको टोली तथा जनप्रतिनिधि र स्थानीयहरू दमकलसहित घटनास्थल पुगेका थिए । तर, आगलागी भएको ठाउँ साँघुरो, घनाबस्ती भएकाले समयमा आगो नियन्त्रण गर्न नसक्दा ठुलो धनमालको क्षति भएको छ । 

गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास
आगो समयमै नियन्त्रणमा गर्न नसकेको भन्दै युवाको एक समूहले बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउदमाथि आक्रमणको प्रयास भएको छ ।

डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार जयगढ बजारको धारापानीबाट आएका युवाहरूले अध्यक्ष साउदलाई धकलपकल गर्नुका साथै गाउँपालिकाको कार्यालयमा आगो लगाइदिने धम्की दिएका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेका थिए  । ती युवा निगरानीमा रहेको र पक्राउ गरेर कारबाही गरिने भण्डारीले बताए ।