Skip This
चरित्र पुँजीवादको, नारा समाजवादको
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार o९:oo:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चरित्र पुँजीवादको, नारा समाजवादको

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार o९:oo:oo

समाजवाद र पुँजीवादका नाम र सिद्धान्तमा भिन्नता भए पनि व्यवहार, सोच र प्रवृत्ति एउटै छ 

अहिले नेपालमा पुँजीवादविरुद्ध समाजवादको नारा चर्को रूपमा लागिरहेको छ । यसबारे अर्थशास्त्री, राजनीतिज्ञ र समाजशास्त्रीले गर्ने विश्लेशण एक मतको छैन । त्यही भएकाले पार्टी नेतृत्व, विश्लेषक, विद्वान्ले कहिले कालोलाई हरियो देख्छन् । कहिले हरियोलाई रातो त रातोलाई नीलो देख्छन् ।

हाल विश्वमा पुँजीवाद विभिन्न नाममा परिचित छ । त्यसमा अहिलेको विज्ञान र प्रविधिको विकासले पुँजीवादलाई झनै ठुलो संस्थागत सहयोग पुगेको छ । पुँजीवादका नयाँ–नयाँ ‘भेरियन्ट’ देखापरिरहेका छन् । यसमा पुँजीवादको नयाँ भेरियन्टचाहिँ ‘निगरानी पुँजीवाद’ हो । यो नयाँ भेरियन्टलाई पनि विश्वभरका प्रजातिन्त्रक र कम्युनिस्ट पक्षधरका अर्थशास्त्री, समाजशास्त्री राजनीतिज्ञले नेपालकै शैलीमा आफूअनुकूल व्याख्या गरिरहेका छन् । नेपालमा तर्क–वितर्क जे भए पनि दासयुगको चरणमै विकास भएको पुरानै शैलीको दलाल नोकरशाही पुँजीवाद मौलाएको छ । यसमा पार्टी नेतृत्व, विश्लेषक विद्वान्का फरक–फरक तर्क आउलान् ? गणतान्त्रिक नेपालमा सत्ता र शक्तिमा पुग्नेहरूको आचरण हेर्दा पुरानै दास र मालिकको प्रवृत्ति छ । नेतृत्वमा सामन्ती शासन शैलीको प्रवृत्तिले मानसिकतामा जरो गाडेको छ । दलका नेता, कार्यकर्ता, विश्लेषक, विद्वान्ले मालिक र दास प्रवृत्तिमा आफूलाई उभ्याइरहेका छन् । जुन दलाल नोकरशाही पुँजीवादमा ठ्याक्कै मिल्छ । त्यही कारण पुँजीवादबारे आफू र आफ्नो समूह अनुकूल व्याख्या छ । त्यसमा पनि हाल पुँजीवादविरुद्ध समाजवादको नारा चखिलो सुनिन्छ । संविधानमा ‘समाजवाद’उन्मुख लेखेपछि, समाजवाद यत्रतत्र सुनिन्छ । कम्युनिस्ट विचारमा आस्था राख्ने दलले आफूलाई समाजवादी भनेर चिनाउने नाममा ‘समाजवादी’ फुर्काे जोडेका छन् । समाजवाद र पुँजीवादको तुलना गर्दै व्यख्या सुनाउँछन् । यता प्रजातान्त्रिक विचार बोक्ने कांग्रेसले पनि समाजवाद आफ्नो लक्ष्य भएको बताउँछ । तर, ऊ पुरानै दलाल नोकरशाही पुँजीवादी कित्तामै टक्क उभिएको छ । पुँजीवाद र समाजवाद विपरीत हुन् । पुँजीवादमा निजी क्षेत्रमा आधारित हुन्छ । समाजवादमा सरकार र जनताको साझा स्वामित्व हुन्छ । स्वास्थ्य, शिक्षा, धर्म, संस्कार संस्कृति, गरिबी, पछौटेपन, भेदभावको समेत व्यापार हुन्छ । समाजवादमा त्यो हुँदैन ।

पुँजीवादले समानतामूलक समाज निर्माणमा सहयोग गर्दैन । वर्गविभेद बढाउँछ । तर, विश्वका कम्युनिस्टइतर समूहका देशमा हाल पुँजीवाद समाजवादी चरित्रमा परिणत भएको छ । कम्युनिस्ट देश पनि पुँजीवादी चरित्रमा उभिएका छन् । समाजवादका मूल मर्म, भावना, चरित्र, पुँजीवादभन्दा ठिक उल्टो हुन्छ । निजीकरणलाई निरुत्साहित गर्दै सामूहिकतामा जोड दिन्छ । समाजवाद राजनीतिक र आर्थिक प्रणाली दुवै एक–अर्काका परिपूरकजस्तै हुन्छन् । मौलिक धर्म, संस्कार, संस्कृति, सभ्यताको संरक्षण गर्दै समानतामूलक समाज निर्माणमा राज्यको उपस्थिति हुन्छ । निजीलाई निरुत्साहित गर्दै सामूहिकतालाई जोड दिने समाजवादको नारा लगाउने राजनीतिक पार्टी र नेतृत्वको चरित्र दासयुगकै छ ।

नेपालमा एउटा कम्युनिस्ट र अर्को प्रजातान्त्रिक गरी दुई धार छन् । कम्युनिस्टका धेरै टुक्रा र समूह छन् । प्रजातान्त्रिक धारमा मुख्य कांग्रेस मात्रै छ । दुवै धार नाम र सिद्धान्तमा फरक, तर व्यवहारमा एउटै छन् । एउटै प्रवृति र सोच छ । चन्दा, कमिसन, भ्रष्टाचार, तस्करीको पैसा पार्टी र नेताका आम्दानीको स्रोत बनेको छ । पार्टीमा चाकरी, चाप्लुसी, गुट, उपगुट छ । विचार र सिद्धान्तको बहस हराएको छ । पुँजीवादभित्र पनि लोकतान्त्रिक व्यवस्था बोकेका पार्टीमा विधि, पद्धति, अनुशासन छैन । तल्लो तहका कार्यकर्ताले माथिल्लो तहका नेतालाई राजतन्त्रकै शैलीमा मालिकले नोकरलाई गर्नुपर्ने व्यवहार छ । नत्र उमेर भएकाहरू पार्टी छाडेर खाडी पस्दा हुन्छ । उमेर नभएकाहरू मैले सकिनँ भनेर हार स्विकार्नुको विकल्प छैन । कि अर्को पार्टी प्रवेश गरेर पुरानो पार्टीको नेतृत्वलाई गालीगलोज गर्ने विकल्प खुला छ ।

बिचौलिया, ठेकेदार, दलालको इसारामा सरकार, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका ‘सेटिङ’मै चल्छन् । सहकारी ठगीकै मुद्दा हेर्दा हुन्छ । सत्तापक्षलाई सेटिङमै उन्मुक्ति दिइएको छ । विपक्षलाई कारबाहीको दायरामा जबर्जस्ती तानिएको छ । के यो दलाल नोकरशाही पुँजीवादमा आधारित राजनीतिक चरित्र होइन ? नेताहरूको आर्थिक शैली र गतिविधि नियाल्दा पनि पुँजीवादको स्वरूप दलाल नोकरशाही पुँजीवाद हो भन्न सकिन्छ । यिनले आफू र आफ्नो समूह (गुट) बनाइरहेका छन् । यिनले सत्ता हत्याउन समाजवादको नारा दिए पनि यिनको चरित्र एउटै छ । 

अर्को नजरमा हेर्दा समानताका लागि समानुपातिक र समावेशी सिद्धान्त संविधानले अंगीकार गरेको छ । समानुपातिक कोटामा सांसद हुनेमा धनीमानीकै नाम अगाडि छ । करोडौँ बुझाएर उच्च घरानाका व्यापारी कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका छन् । सत्तालाई आफूअनुकूल व्यापार गर्ने माध्यम बनाउँछन् । राज्यको मूलधारबाट पछाडि पारिएका आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलितको कोटामा दलका नेताको व्यापार हुन्छ । यसको मापदण्ड अवैज्ञानिक छ । त्यसलाई सच्याउन जरुरी छ । प्रत्यक्ष निर्वाचन प्रणाली त्यस्तै छ । वडाध्यक्षको चुनाव लड्न २० लाखसम्म खर्चेको सुनिन्छ । बिचौलिया, दलाल, ठेकेदार मात्र उम्मेदवार बन्ने प्रथा हो यो । जसले पार्टी नेतृत्वलाई चाकरी गरेर दाम चढाउन सक्छ, उही नेतृत्वमा पुग्ने परिपाटी हो । 

पुँजीवादका विभिन्न रूपमध्ये विश्वमा अहिले नयाँ निगरानी पुँजीवाद भित्रिएको छ । विज्ञान र प्रविधि युगको विसकाससँगै विश्वमा निगरानी पुँजीवाद हाबी छ । जसमा आज सूचना हुने र नहुनेबिच बहस छ । इन्टरनेटको प्रयोगबाट जन्मिएको निगरानी पुँजीवादले शासकको चरित्रमाथि जनताको निगरानी बढाएको छ । नेताहरूको भ्रष्टाचार, तस्करी, मिलेमतो र कुकृत्यको पर्दाफास गर्दै छ । जसले नेपालमा मौलाएको मिलीजुली दलाल नोकरशाही पुँजीवादी चरित्रमाथि धावा बोल्दै छ । धावा बोल्नेमा सञ्चारमाध्यम मात्र छैनन् । फेसबुक, युटुब, टिकटकलगायत दर्जनौँ सामाजिक सञ्जाल छन् । यो निगरानी पुँजीवादको अर्को नाम डिजिटल पुँजीवादभन्दा फरक नपर्ला । यसको विशेषता पनि विश्वलाई एकल स्वामित्वमा राख्नु नै हो । आर्थिक, सामाजिक, सांस्कृतिकलगायत दृष्टिकोणबाट कब्जा जमाउने हो ।