
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भीषण आगलागी हुँदा करिब एक दर्जन पसल जलेका छन् ।
गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढ बजारमा रहेको एउटा पसलमा मंगलबार साँझ ७ बजेतिर ग्यास सिलिन्डरबाट सल्किएको आगो फैलिँदा करोडौंको क्षति भएको अछाम प्रहरी प्रमुख, डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । आगलागीबाट कारण किराना, कपडा, भाडा र सुनचाँदी पसलमा क्षति पुगेको छ । ‘मध्यराति आगलागी नियन्त्रणमा आएको छ, के कति क्षति भएको छ भनेर बुधबार मात्र थाहा हुन्छ,’ भण्डारीले बताए ।
आगो नियन्त्रणका लागि सदरमुकाम मंगलसेनबाट दमकल ल्याइएको थियो । तर, जयगढको पुरानो बजारमा साँघुरो गल्ली रहेकाले दमकल पुग्न समय लागेको थियो । आगो नियन्त्रणका लागि सेनाको गोरखबक्स गण, शसस्त्र प्रहरी बल खप्तड गुल्म तथा प्रहरीको मंगलसेन, साँफे र जयगढबाट जनशक्ति खटिएको थियो ।
गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास
आगो समयमै नियन्त्रणमा गर्न नसकेको भन्दै युवाको एक समूहले बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदमाथि आक्रमणको प्रयास भएको छ ।
डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार जयगढ बजारको धारापानीबाट आएका युवाहरूले अध्यक्ष साउँदलाई धकलपकल गर्नुका साथै गाउँपालिकाको कार्यालयमा आगो लगाइदिने धम्की दिएका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेका थिए । ती युवा निगरानीमा रहेको र पक्राउ गरेर कारबाही गरिने भण्डारीले बताए ।