१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
समाचार डिजिटल संस्करण

अझै पक्राउ परेनन् मिटरब्याजी रामदेव साह

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

विपन्न नागरिकको उठीवास लगाउने सप्तरीको खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी रामदेव साह तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीले निर्देशन दिएको तीन वर्ष बितिसक्दा पनि उनी अझै पक्राउ परेका छैनन्।

विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए। तर, निर्देशन दिएको तीन वर्ष बितिसक्दा पनि साह पक्राउ परेका छैनन्।

स्थानीय शीतल यादवले छोरालाई वैदेशिक रोजगारीमा पठाउन जग्गा राखेर साहसँग दुई लाख ७० हजार ऋण लिएका थिए। साहलाई अहिलेसम्म १२ लाख तिरिसकेका यादव भन्छन्, ‘अझै ४४ लाख तिर्न बाँकी छ, आन्दोलन गरेको यत्रो वर्ष भइसक्यो। राजविराजदेखि काठमाडौंसम्म गएँ। अझै न्याय पाएको छैन।’

यस्तै, बोदेबरसाइन नगरपालिका– ७ का मोहम्मद तैयव अलीले ०७१ सालमा छोरीको विवाहका लागि ३८ लाख ऋण लिएका थिए। अहिलेसम्म ९५ लाख रुपैयाँ तिरिसकेका उनी भन्छन्, ‘ऋण चुक्ता गरेपछि फिर्ता हुने गरी आफ्नो नाममा रहेको घरसहित एक बिघा १० कट्ठा जग्गा साहुको नाममा पास गरिदिएँ । अहिलेसम्म ९५ लाख तिरिसकेँ, तर साहुले जग्गा फिर्ता गरेको छैन। हेर्दाहेर्दै सुकुमवासी बनाइदियो।’

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार तथा धनुषा खरिहानी टोल बस्ने कैलाश साह र पुष्पा साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।

प्रहरीले तेलीका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर र उनकी दिदी अनुराधालाई २२ असार ०७९ सालमा  पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। सर्वोच्च अदालतको आदेशमा उनीहरू जनही ५०–५० लाख धरौटीमा थुनामुक्त भइसकेका छन्। असार २६ गते धरानबाट पक्राउ परेकी शिवकुमारी पनि जिल्ला अदालतको आदेशमा २५ लाख धरौटीमा थुनामुक्त भइसकेकी छिन्। 

तर, रामदेवसहित अन्य पाँचजना भने अझै पक्राउ परेका छैनन्। रामदेवसहित छोरा विपिनकुमार, छोरी पुष्पा साह, नाति चन्दनकुमार साह र कैलाश साह फरार छन्।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले अदालतबाट पक्राउ पुर्जी जारी भए पनि साहलाई पक्राउ गर्न नसकिएको बताए। उनले भने, ‘छोराछोरी र श्रीमती पक्राउ परेर अनुसन्धान गरी अदालतबाट धरौटीमा छुटिसकेका छन्। साहको खोजबिन जारी छ, छिट्टै पक्राउ गर्छौँ।’