
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार साँझ सिराहाको मिर्चैया क्षेत्रमा सञ्चालित निजी स्वास्थ्य संस्थाको अनुगमनपछि १३ स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहसहितको टोलीले अनुगमन थालेको सुइँको पाएपछि आठवटा स्वास्थ्य संस्था बन्द गरी सञ्चालक तथा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन बनेका छन् । अनुगमन टोली मिर्चैया बजार प्रवेश गरेपछि सञ्चालन अनुमति नलिई अवैध रूपले सञ्चालित आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालकसँगै व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारी फरार भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।
अवैध रूपले सञ्चालित स्वास्थ्य संस्थामाथि कारबाही हुने डरले सञ्चालकसहित चिकित्सक, स्वास्थ्यकर्मीहरू स्वास्थ्य संस्था बन्द गरी फरार भएको उनले बताए। शनिबार साँझ करिब पाँच बजेदेखि तीन घण्टासम्म १४ स्वास्थ्य संस्था अनुगमन गर्दा सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।
बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रा.लि., एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रा.लि., शान्ति हेल्थ केयर प्रा.लि., बाल संसार हेल्थ केयर प्रा.लि.,राम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चस्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रा.लि., विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रा.लि. र लाइफलाइन क्लिनिक छन् ।
मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पूरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको उक्त अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्ने गरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । उक्त अस्पताललाई प्रदेशको मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
अनुगमन टोली पुगेका वेला सिद्धकामना हस्पिटल प्रा.लि.का सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र राखेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । त्यहाँ भेटिएका र स्वास्थ्यकर्मी भनेर दाबी गरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले गत माघको अन्तिम सातादेखि थालेको अनुगमनअन्तर्गत अहिलेसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेकामध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पूरा नगरेका १०८ वटा अस्पताल बन्द गराइएका छन् । नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन समयसीमा दिइएको छ । बन्दमध्ये मापदण्ड पूरा गरेका पाँच अस्पताललाई प्रदेश मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।