
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । आज (आइतबार) उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र सारंगा सुवेदीको इजलासकाे हेर्न नमिल्नेमा परेको हो ।
आइतबार दुवैजनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो ।
अन्तरिम आदेश सम्बन्धमा छलफल गर्नलाई दुवै पक्षलाई झिकाएकोमा हेर्न नमिल्ने भएको हो । सोही इजलासमा कर फर्स्याेट आयोगका पदाधिकारीहरूको मुद्दा परेकोमा ती पनि आइतबार हेर्न नमिल्नेमा परेका छन् । तीन पदाधिकारीका सातवटा भ्रष्टाचारसम्बन्धी निवेदन सर्वोच्चले एक साथ लगाउमा राखी हेरिरहेको छ ।
घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो । घिसिङले मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।