
प्रदेश खेलकुद विकास परिषद् बागमतीको पहलमा शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एन्जिला’ को विशेष प्रदर्शनी गरिएको छ । सो अवसरमा बागमतीका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले चलचित्र आम खेलाडीको कथा भएको बताएका छन्।
मन्त्री महर्जनले चलचित्र एन्जिलाले हरेक खोलाडीको भोगाइको प्रतिनिधित्व गरेको बताए । उनका अनुसार चलचित्रका हरेक दृष्यले खेलकुद क्षेत्रका सबै विधाका खेलाडीको प्रतिनिधित्व गरेको छ।
‘फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको बायोपिक एन्जिलाको कतिपय दृष्य मेरै संघर्षसँग पनि जोडिएका छन्। आर्थिक अभावमा परेर अवसर नपाएका र प्रशिक्षण केन्द्र नहुँदाको पीडा हामी सबै खेल क्षेत्रका खेलाडीहरूले भोगेको कथा हो,’ उनले भने, ‘यो चलचित्र मेरो पनि भोगाइ हो ।’
खेलाडीहरूले निरन्तर प्रयास र परिश्रमबाट अहिले देशलाई विश्वसामु चिनाउन सफल भएको उनको भनाइ छ । अहिले खेलकुद क्षेत्रमा थोरै भए पनि परिवर्तन आएको र यसलाई थप वृद्धि गर्दै संस्थागत विकासमा अघि बढ्न जरुरी रहेको उनले बताए । खेलाडीलाई नेपालमा नै टिकाउन सक्ने वातावरण तयार गरेर सो अनुसारको संरचना विकासमा जोड दिनु वर्तमान समयको माग रहेको उनको भनाइ छ।
प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दीपक लामाले खेलाडीको प्रोत्साहन स्वरुप चलचित्रको विषेश शो आयोजना गरिएको बताए। यसले चलचित्र निर्मातासँगै खेलाडीहरूको कथालाई जनमानसमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । खेलाडीहरूको दुःख र पीडालाई समेटेर बनाइएको उक्त चलचित्र हरेक विधाका खेलाडीले भोगेको कथा रहेको बताए।
‘एन्जिला’ सपनाको संघर्ष
गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘एन्जिला’ले एउटा सपनालाई पूरा गर्ने संर्घषको कथालाई समेटेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलाको बाल्यकालको सपनालाई पूरा गर्न उनकी आमाले गरेको त्याग चलचित्रको कथावस्तुमा समेटिएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्रले एन्जिलाको सपना र संघर्ष पश्चातको सफलता बटुलेर कलात्मक रुपमा प्रस्तुत गरेको छ ।