मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १६ शनिबार २o:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद

केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट २३ चैतदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार २o:४२:oo

केपी ओली कप टी–२० राष्ट्रिय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता–०८१ पोखरामा चैत अन्तिम सातादेखि हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट आयोजना गर्ने आठ दिने प्रतियोगिता २३ देखि ३० चैतसम्म सञ्चालन हुनेछ । 

लिग कप नकआउटका आधारमा खेलाइने क्लब स्तरीय प्रतियोगितामा १६ क्लबबिच प्रतिस्पर्धा हुने एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज राजेशकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताका लागि विभिन्न २९ क्लब सम्पर्कमा आएको जानकारी दिँदै गुरुङले तीनै क्बलहरूबाट सातवटै प्रदेश, विभागीय टोली र अन्य क्लब समेटिने गरि सहभागी टोली छनोट गरिने उनले जानकारी दिए । 

आयोजक एकेडेमीका अध्यक्ष धु्रव आर्चायले नयाँ प्रतिभाकोे खोजीसँगै खेल पर्यटनमार्फत समृद्धि हासिल गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । पहिलो संस्करणको प्रतियोगिता समेत पोखरामै भएको थियो । 

पुरस्कार राशि बढ्यो
गतवर्ष पोखरामा सम्पन्न प्रदेश स्तरीय प्रतियोगिताको तुलनामा यस वर्ष सञ्चालन हुने क्लब स्तरीय प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । उपाधि विजेताले १० र उपविजेताले पाँच लाख नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए । यसैगरी म्यान अफ द सिरिजलाई ३०, वेस्ट बलरलाई र वेस्ट ब्याटसम्यालाई समान २० हजार नगदसँगै शिल्ड प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार नगदसँगै शिल्ड प्राप्त गर्ने तिमिल्सिनाले जानकारी दिए । 

यसअघि गत वर्ष सम्पन्न प्रदेश स्तरीय प्रतियोगिताको विजेताले पाँच र उपविजेताले दुई लाख ५० हजार नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजले ३०, वेस्ट बलरले २०, म्यान अफ द म्याचले पाँच हजार नगदसँगै शिल्ड प्राप्त गरेका थिए ।